News Category 2073/05/07

संविधान संशोधन नेपालको आन्तरिक मामिला ः उपेन्द्र यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ भदौं । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने कुरा नेपालको आन्तरिक मामिला भएको बताउनु भएको छ ।
सोमबार राजविराजमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संविधान बारे कुनै मुलुकले चासो देखाइरहेको भन्ने कुरा समेत गलत भएको जिकिर गर्नुभयो । उहाँले मुलुकमा देखिएका समस्याहरु बाहिरी शक्तिको प्रभावमा नपरी आन्तरिक रुपमै समाधान गर्न नेपाल आफै सक्षम रहेको उल्लेख गर्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष यादवले वर्तमान सरकारले दुई छिमेकी मुलुकमा आफ्ना दुई दुत पठाएर आत्मविश्वासको कमी भएको जिकिर गर्नुभयो । सरकारले दुई उपप्रधानमन्त्रिलाई दुई छिमेकी मुलुक दुतका रुपमा पठाउनु हतारमा गरेको निर्णयको संज्ञा समेत दिनुभयो ।
सरकारले दुत पठाएर नेपालमाथी छिमेकी मुलुकको विश्वास नहुनु वा छिमेकीमाथी नेपालको विश्वास नभएको कुराको अर्थ राख्ने जिकिर गर्नुभयो । 
अध्यक्ष यादवले मुलुकमा अहिले व्यापक रुपमा अराजकता बढिरहेको भन्दै अराजक बढ्नुका कारण विगतका विभिन्न आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरु कार्यान्वयन नहुनु नै भएको उल्लेख गर्नुभयो । 
उहाँले वर्तमान प्रचाण्ड नेतृत्वको सरकारले आफूहरुको माग सम्बोधन गर्ने सहमति गरे अनुसार नै सरकारलाई बाहिरबाट सहयोग गरिरहेको दाबी गर्नुभयो । 
अध्यक्ष यादवले अहिलेको संविधानमा व्यापक त्रृटिहरु रहेको भन्दै संविधानका ८३ वटा धाराहरु संशोधन गरिए भने कामचलाउ संविधान बन्छ यदी ३ सय भन्दा बढी धाराहरु संशोधन गरिए भने उत्कृष्ट संविधान बन्ने दाबी समेत गर्नुभयो । 
उहाँले गलत, त्रृटिपूर्ण र मधेश विरोधी संविधानलाई पुर्नलेखन वा संशोधन जे गरेर भएपनि मधेशी, आदिवासी, दलित, मुश्लिम लगायतको अधिकारलाई संविधानमा समावेश गर्नुपर्ने माग गर्नुभयो । अध्यक्ष यादवले संविधान संशोधन गर्ने कुरामा कुनै आघात भए त्यसको परिणाम मुलुकमा पुनः ठूलो आन्दोलनको विकल्प बाहेक नरहेको प्रस्ट पार्दै संविधान संशोधन कार्यमा नेकपा एमालेले सहयोग गर्ने उहाँको अपेक्षा रहेको छ ।  
सो पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. २ का संयोजक रेणुकुमारी यादव, मुख्य सचिव शम्भु झा, पार्टीका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट