News Category 2073/05/10

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
हरेक भाद्र अष्टमीमा मनाईने श्रीकृष्ण जन्मष्टमीको अवसरमा बिहिबार सप्तरी सहित मुलुकभरीका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको पुजा गर्ने घुँइचो लागेको छ । 
सोही अवसरमा सप्तरीको मलेठ वडा नं. ५ र राजविराजस्थित हटियामा रहेको कृष्ण मन्दिरमा बिहीबार बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।
श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेका छन् । यस्तै शुक्रबार हटियास्थित कृष्ण मन्दिरमा मेला समेत लाग्ने गरेको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व यसवर्ष पनि अपार श्रद्धाकासाथ मनाईदैछ ।
यस अतिरिक्त मन्दिर परिसरमा राधाकृष्ण लगायत देवीदेवताको माटोको मूर्ती समेत निर्माण गरी पूजाआजा गरिदै छ । यस अतिरिक्त सप्तरीसहित मधेशका ग्रामिण भेगका गाउँहरुमा समेत जन्माष्टमीको अवसरमा माटोको मूर्ती बनाई पूजाआजा गरिँदै छ । 
यस्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले बिहीबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ ।  
सो अवसरमा पुनरावेदन अदालतका न्यायाधिश निता गौतम दिक्षित, पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधिश कमानन्द देव, सीमा सुरक्षा कार्यालय शसस्त्र प्रहरीका एसपी दमन थापा, सेवा केन्द्रकी संचालिका भगवती दिदीले सामुहिक रुपमा कार्यक्रमको उद्घाटन गर्नुभयो ।   
सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम, नृत्य एवं झाँकी समेत प्रदर्शन गरिएको थियो । 
यसैबिच पूर्व सिंचाई मन्त्री एवम् सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेश कुमार यादवले विहीवार मलेठस्थित राधाकृष्ण मन्दिरको प्रवेशद्वार उद्घाटन गर्नुभएको छ ।
संसदीय विकास कोषको २ लाख र संसदीय कोष तथा क्षेत्रीय पुर्वाधार कोषको १० लाख गरी कुल १२ लाखको लागतमा निर्मित प्रवेशद्वारको उहाँले रिबन काटेर उद्घाटन गर्नुभएको हो । 
यादव सेवा समितिका अध्यक्ष प्रयागलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति बिरवल बिराजी यादव, यादव सेवा समितिका सदस्य रघुनन्दन यादव, धर्मशाला समितिका सुगम्बर यादव, डा.काशीनाथ यादव, ई. सुरत यादव, कोषाध्यक्ष बैद्यनाथ यादव, प्रवेशद्वार निर्माण उपभोक्ता समितिका टुनटुन यादवलगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट