News Category 2073/05/13

लापर्वाही गरेर दुर्घटना भए लाइसेन्स खारेज

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १२ भदौं । 
लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ ।
सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको बताउनुभयो । उहाँले सवारी दर्घुटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताउनुभयो ।
यस्तै मन्त्री लेखकले अस्थायी रुट परमिट दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताउनुभयो । कच्ची बाटोको रुट परमिट लिन विभाग र केन्द्रमा आउनु पर्ने व्यवस्था रहेको पाइएको भन्दै उनले अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो ।
यसले सिण्डिकेट अन्त्यमा सहयोग पुग्ने मन्त्री लेखकले दाबी गर्नुभयो । रुट परमिट विना चलेको गाडी रोकिँदा यात्रुलाई केही समस्या देखिएको उहाँले बताउनुभयो ।
छतमा मानिस राख्न नहुने मागबारे जवाफ दिँदै उहाँले यदि यात्रुलाई असुविधा हुँदैन भने लामो दुरीको बसमा केरियर नै हटाइदिउँ भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो ।
यता यात्रुबाहक सवारीले बढी यात्रु बोकेमा चालकका अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने, यात्रुबाहकले मालसामान र मालबाहकले यात्रु बोकेमा चालकको अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने पर्यटक सवारीले गैरपर्यटक यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि ६ महिनाका लागि निलम्बन गर्ने, निजी सवारीले भाडाको यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गर्ने, सार्वजनिक सवारीले रुट इजाजत नलिएको बाटोमा सवारी चलाएमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गर्ने, लामो रुटमा दुई चालक अनिवार्य । नभए सवारी साधनको बाटो इजाजत पत्र खारेज र दर्ता इजाजत पत्र छ महिना निलम्बन गर्ने व्यवस्था मिलाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट