News Category 2070/06/06

नव जनवादी मोर्चा एमाओवादीमा विलय

दैनिक समाचारदाता


काठमाडौँ÷नव जनवादी मोर्चा नेपाल एमाओवादीमा विलय भएको छ । 
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका सबै केन्द्रीय समितिसहित सम्पूर्ण जिल्ला समितिहरू एमाओवादीमा विलय भएको जानकारी दिइयो । 
मोर्चाका कार्यबाहक अध्यक्ष डा. मनोजकुमार सिंहले मोर्चाका सबै समिति एमाओवादीमा विलय भएको घोषणा गर्नुभयो । कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोर्चाका सबै पदाधिकारीलाई पार्टी प्रवेश गराउनुभएको थियो । 
मोर्चाका संस्थापक अध्यक्ष रामराजाप्रसाद सिंहले देख्नुभएको गणतन्त्रको सपना एमाओवादीले जनयुद्धमार्फत पूरा गरेका कारण एमाओवादीबाहेक अरू राजनीतिक पार्टी आफूहरूको लागि स्वीकार्य नभएको कार्यबाहक अध्यक्ष सिंहले बताउनुुभयो । 
सो कार्यक्रममा अध्यक्ष दाहालले संविधानसभा निर्वाचन मुलुकको भाग्य र भविष्यसँग जोडिएकाले यसलाई सफल बनाउनु आम नेपाली नागरिकको दायित्व हो भन्नुभयो । 
मुलुकभर बढेको एमाओवादीको जनलहरका कारण आफ्नो पार्टीले पूर्ण बहुमत प्राप्त गर्ने सम्भावना बढेर गएको भन्दै उहाँले मधेसी जनताको हित र उन्नतिका लागि एमाओवादी नै क्रियाशील रहेको बताउनुभयो । 
कार्यक्रममा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का सचिव अरविन्द साह, सप्तरी क्षेत्र नं ६ बाट नेकपा(एमाले)बाट प्रत्यक्षका लागि नाम सिफारिश भएका मोहम्मद बसुरिद्दन लगायत दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता समेत एमाओवादीका प्रवेश गर्नुभएको थियो । 
कार्यक्रममा मोर्चा सम्बद्ध तीसभन्दा बढी नेता तथा कार्यकर्ता, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का नेता तथा कार्यकर्तासमेत एमाओवादीमा प्रवेश गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट