News Category 2073/05/25

प्रशासन, प्रहरी, नगरपालिका, जनस्वास्थ्य, जिविस लगायत ६ निकाय बिरुद्ध पुनरावेदनको परमादेश जारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
पुनरावेदन अदालत राजविराजले नगर अत्याधिक फोहर, दुर्घन्धित र सुँगुरको आतंकबाट त्रसित बन्दै गएको भन्दै त्यसतर्फ विषयगत सम्बन्धित कार्यालयहरुलाई निषेधाज्ञा मिश्रित परमादेश जारी गरेको छ । 
अधिवक्ता कौशल किशोर दत्तले जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला विकास कार्यालय सप्तरी, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी, राजविराज नगरपालिकाको कार्यालय र राजविराज नगरपालिका १ स्थित बजार व्यवस्थापन समितिलाई विपक्षी बनाई सोमबार रिट दायर गर्नुभएको थियो । 
पुनरावेदन अदालत राजविराजका मुख्य न्यायधिश कुमार चुडाल र न्यायधिश उमेश कुमार सिंहको संयुक्त आदेशले ति विषयगत कार्यालयहरुलाई निषेधाज्ञा मिश्रित परमादेश जारी गरेको हो । 
अन्तरिम आदेश छलफलको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा अधिवक्ता कौशल किशोर दत्त र विपक्षीतर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली तथा अधिवक्ता हेमनारायण चौधरीले बहश गर्नु भएको थियो ।
सो निवेदनमा राजविराज नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस रोगले बालकको मृत्यु भएको अवस्था देखाउँदै सोको कारण नगरपालिकामा भएको अव्यवस्थित फोहोर एवम् छाडा सुंगुर समेत भएकोले विषयको सम्वेदनशीलता एवम् गम्भिर्यता समेतलाई मध्यनजर गरी देहाय बमोजिम गर्नु गराउनु भनी पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३क. बमोजिम विपक्षीहरुका नाममा यो अन्तरिम आदेश जारी गरीएको जनाईएको छ ।  
अन्तरिम आदेशमा राजविराज नगरपालिकाको रुपनी रोड( बसपार्क, राजदेवी मोड चौक, कचहरी रोडको जिल्ला प्रशासन कार्यालयदेखि सिराहा रोड र सो रोडमा पर्ने मासु बजार अगाडि, हाट बजार एवम् लोहार गल्ली चोक, नेता चोक, हस्पिटल दक्षिण कुनौली रोड र हनुमाननगर रोडको संगम एवम् अन्य सम्वेदनशील स्थलमा विहान र बेलुका समय निर्धारण गरी फोहोर उठाउने कन्टेनर÷टेलर वा अन्य साधनको व्यवस्था गरी फोहोर उठाउने व्यवस्था एवम् जनचेतनामूलक कार्य गर्नु गराउनु भनी राजविराज नगरपालिकालाई आदेश दिएको छ । 
त्यस्तै सुंगुरबाट इन्सेफलाइटिस जस्तो जोखिम रोगको संक्रमण हुने भएकोले र यसले महामारी समेत ल्याउन सक्ने भएकोले छाडा सुंगुर एवम् गाई वस्तुहरु निश्चित तोकिएको क्षेत्र, घर वा काञ्जिहाउसमा राखी नियन्त्रणमा लिई सचेत गराउनु एवं आवश्यकता अनुसार सम्बन्धित धनीलाई प्रचलित कानून बमोजिम दण्ड दिने प्रक्रिया अवलम्वन गर्नु गराउनु भनी राजविराज नगरपालिकालाई आदेश दिएका छन ।
यसैगरी राजविराज नगरपालिका एक्लो निकायले उक्त कार्य गर्न नसक्ने भएको र शान्ति सुरक्षा समेतको आवश्यकता पर्ने भएकोले नगरपालिकासंग समन्वय गरी आवश्यक प्रहरी एवं सुरक्षाकर्मी उक्त तोकिएका स्थानमा खटाई आवश्यक व्यवस्था गर्नु गराउनु भनी जिल्ला प्रशासन कार्यालय, सप्तरी तथा जिल्ला प्रहरी कार्यालय सप्तरीलाई समेत आदेश दिएका छन । यस्तै फोहोर व्यवस्थापनका लागि हाट बजार उपभोग गर्ने पसलवाला, दोकानदार एवं व्यापारीलाई जनचेतना अभिवृद्धि एवं वारम्वार अव्यवस्थित फोहोर गरेमा दण्ड समेत हुने बारे जानकारी गर्न गराउन र फोहोर व्यवस्थापनमा आवश्यक सहयोग गर्न वजार व्यवस्थापन समितिलाई आदेश दिएको छ भने अस्पतालबाट निस्कने फोहोर विशेष प्रकृतिको हुने भएको र सोको व्यवस्थापन समेत विशेष रुपमा हुनु पर्ने भएकोले गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल व्यवस्थापन समिति एवं जिल्ला जनस्वास्थ्य कार्यालयसंग सो अस्पताल एवं अन्य अस्पताल÷क्लिनिकहरुबाट निस्तृत हुने फोहोर एवं फोहोर व्यवस्थापनमा अपनाएको व्यवस्थापन वारे आदेश दिएका हुन । 
त्यसैगरी सार्वजनिक हक सरोकारको भएको र मुद्दामा उठाइएको विषय जनस्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धित भएकोले वहस पैरवीका लागि एमीकस क्यूरीका रुपमा २ जना विद्वान् कानून व्यवसायीलाई नियुक्त गरी पठाई दिनु हुन भनी पुनरावेदन वार एशोसिएसन, राजविराजलाई आदेश दिदै सार्वजनिक स्वास्थ्यसंग सम्बन्धित समेत भएकोले जनचेतना अभिवृद्धि एवं प्रचारप्रसार समेतका लागि नेपाल पत्रकार महासंघ र जिल्ला कार्यालय सप्तरीलाई आदेश दिएको छ ।
अधिवक्ता दत्तले दायर गर्नुभएको रिट उपर सोमबार पुनरावेदन अदालतका न्यायाधिश उमेश कुमार सिंहको एकल इजलासले निवेदन सार्वजनिक सरोकारको विषय भएकोले दर्ता गर्न अनुमति प्रदान गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट