News Category 2073/06/01

जिल्लाको दुई स्थानबाट राहदानी र तीन स्थानबाट नागरिकता बितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
इलाका प्रशासन कार्यालय कंचनपुर सप्तरीबाट पनि राहदानी बितरण गर्ने कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराज र इलाका प्रशासन कार्यालय कंचनपुर गरि दुई स्थानबाट अब राहदानी बनाउन सकिन्छ । 
यस्तै दुई स्थानबाट राहदानी तथा जिल्ला प्रशासन कार्यालय सप्तरी, इलाका प्रशासन कार्यालय कंचनपुर र इलाका प्रशासन कार्यालय बोदेबसाईन गरि तीन स्थानबाट नागरिकता बनाउन सकिन्छ । 
२०७३ साल भदौं २२ गतेदेखी इलाका प्रशासन कार्यालय कंचनपुरबाट राहदानी बितरण गर्ने कार्यको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत प्रेम कुमार उपाध्यायले जानकारी दिनुभयो ।
यसअघि सो प्रशासन कार्यालयबाट नागरिकता र सोको प्रतिलिपी मात्र प्रदान गरिन्थ्यो । बि.स. २०५० सालमा इलाका प्रशासन कार्यालय कंचनपुर स्थापना भएपछि २०५२ सालदेखी मात्र नागरिकता प्रदान गर्न थालिएको हो । 
भदौं २२ गतेदेखी राहदानी प्रदान गर्ने कार्य सुरु भएपछि उक्त इलाका प्रशासन कार्यालयमा भदौं ३१ गते सम्म ३६ वटा राहदानी लिनेको आवेदन पर्न आएको कास भोला प्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँले दश दिनको फरकमा उक्त राहदानी आवेदन सम्बन्धित निकायमा पठाइने बताउनुभयो । 
कंचनपुर इलाका प्रशासन कार्यालयबाट राहदानी र नागरिकता दुबै बितरण गर्न सुरु गरिएपछि जिल्लाको सप्तकोशी र कंचनरुप नगरपालिकासहित ८ गाविसका लाखौं जनता ती कार्य गर्न सदरमुकाम राजविराज आउनबाट मुक्त भएका छन् । 
यस्तै इलाका प्रशासन कार्यालय बोदेबसाईनबाट त्यस क्षेत्र वरिपरीका २२ गाविसका जनताले नागरिकता तथा सोको प्रतिलिपि बनाउन सक्ने प्रावधान रहेको छ । 
यता जिल्लाको दुई स्थानबाट राहदानी तथा तीन स्थानबाट नागरिकता बितरण कार्य सुरु भएपछि अहिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीहरुको चाप घटेको छ । 
तीन स्थानबाट राहदानी बितरण गर्ने कार्य सुरु भएपछि अहिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा राहदानीका लागि आवेदन दिन आउनेहरुमा कमी आएको राहदानी फाँटका नासु तोम प्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले चालु आ.ब. २०७३÷०७४ को दुई महिनामा करिब एक हजार पाँच सय राहदानी लिनका लागि निवेदन पर्न आएको बताउनुभयो । 
यसअघि सप्तरीमा वर्षेणी झण्डै १८ हजारको संख्यामा राहदानी बनाउनका लागि आवेदन आउने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट