News Category 2073/06/04

पत्रकारहरुले पनि कालो दिन मनाए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
सप्तरीका पत्रकारहरुले पनि संविधान जारि भएको दिन असोज ३ लाई कालो दिवसका रुपमा मनाएका छन् ।
जारी भएको संविधान विभेदकारी रहेको भन्दै सङ्घीय प्रेस फोरम सप्तरीद्वारा सोमवार विहान हात तथा टाउँकामा कालो पट्टी बाँधेर कालो ब्यानरसहित राजविराजमा प्रभातफेरीको आयोजना गरि कालो दिन मनाएका हुन् । 
राजविराजस्थित शहिद दशन चौकबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो । 
सभामा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झाले संविधानमा देखिएका असन्तुष्टिलाई अविलम्ब सम्बोधन गर्न राजनीतिक दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्र साहले जबरजस्ती लादेर मधेशी जनताले संविधान स्वीकार गर्न नसकिने भएकोले संशोधनको आवश्यकता औंल्याए । 
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देवले मधेश आन्दोलित रहेको अवस्थामा संविधान दिवस मनाउनु हास्यास्पद रहेको बताउनुभयो । 
प्रेस मञ्च सप्तरीका अध्यक्ष शुभचन्द्र झाले वर्तमान संविधान विभेदकारी रहेको भन्दै अविलम्व सम्बोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव जितेन्द्र कुमार झा ‘जितु’ले गर्नुभएको थियो । पत्रकारहरुले मधेशको मागलाई सम्बोधन गरेर संविधानमा संशोधन गर्न माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट