News Category 2073/06/05

सप्तरीमा पुनः झाडापखालाको प्रकोप कोइलाडीमा २५ परिवारका ४० जना बिरामी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सप्तरीको कोइलाडी गाविस २ मा सोमबारदेखी झाडापखालाको प्रकोप देखा परेको छ । कोइलाडी गाविस वडा नं. २ का २५ परिवारमा सोमबारदेखी देखा परेको झाडापखालाको प्रकोप मंगलबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बिरामीहरु उपचार गर्न आएपछि सार्वजनिक भएको हो । 
स्थानीय दिपेन्द्र मण्डल, रिना मण्डल, लगायतलाई पेट दुखेपछि स्थानिय क्लिनकमा उपचार्थ राजविराजस्थित अंचल अस्पतालमा भर्ना गरिएको छ । यस्तै सो गाविस वडा नं. २ का २५ परिवारका ४० जनालाई झाडापखाला लागेको स्थानियहरुले बताएका छन् । अहिले झाडापखाला फैलिएर अन्य वडाहरुमा समेत फैलिएको छ । 
अंचल अस्पतालमा झाडापखालाका ८ जना बिरामीहरुलाई उपचारका लागि भर्ना गरिएको छ । जसमध्ये दुई जना डिस्चार्ज भइसकेका छन् । तर, गाविसमा अहिले पनि दर्जनौं व्यक्ति झाडापखालाबाट ग्रसित छन् । 
यस्तै सो सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ अधिकृत एवं प्रमुख बिजय झाले गाविसमा फैलिएको झाडापखाला नियन्त्रणका लागि औषधी उपचारका साथै चिकित्सकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो । 
यता स्थानियवासी एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश सिंहले दुई दिनअघि स्थानीयहरुले जमेको पानीबाट माछा मारेर खाएपछि झाडापखाला लागेको जानकारी दिनुभयो । 
यसअघि भदौं ३० गते जिल्लाको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको थियो । सो गाविसमा खानेपानी फोहर भएको तथा खुल्ला स्थानमा शौच गर्ने गरेकोले सो प्रकोप फैलिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट