कोशी किनार गाविसका जनताहरु सनपात खेतीतर्फ आकर्षित

Sunday, September 25, 2016
राजविराज÷सप्तरीको विभिन्न ग्रामिण भेगका किसानहरु सनपात खेतिलाई नगदे बालीको रुपमा ग्रहणगरेपछि अहिले उनीहरु सो खेतीतर्फ आकर्षित भएका छन । प्राय सप्तरीको कोशी नदी तटबन्ध किनार गाविसका जनताहरु सो खेतीतर्फ बढी आकर्षित भएको देखिन्छन् ।
यो खेतीका लागि अत्याधिक पानी आवश्यक परेको हुनाले नदी, नाला, पोखरी अर्थात पानी जमेको स्थानमा गर्ने गरिन्छ ।
जिल्लाको पुर्वी तथा दक्षिणी भेगका विभिन्न गाविसका किसानहरु नगदे बालीको रुपमा सनपात  खेति गर्दै आएका छन । सनपातबाट जुटको बोरा, बाँध्ने काममा प्रयोग हुने सुतली बनाउने काम हुने गर्दछ जसलाई स्थानीय भाषामा “पटुवा” भन्ने गरिन्छ । अहिले तराईको अधिकांश जिल्लामा सनपात भण्डारण गरेर बेमौसममा बढी रकममा बिक्रि गर्ने गरिन्छ । यता सनपात निकालेर बाँकी रहेको पदार्थ “सन्ठी” (स्थानिय भाषा) गोबरमा हालेर दाउरा (गोईठा) बनाउने गरिन्छ जसलाई खान पकाउने कार्यमा समेत प्रयोग गर्ने गरिन्छ । “सन्ठी” चाडै बल्ने गरेकोले यसलाई आगो बाल्न तराईमा बिशेष प्रयोग गरिन्छ । 
जिल्लाको देउरी भरुवा, बभनगामाकट्टी, को.मधेपुरा, इनर्वा, हनुमाननगर, योेगिनिया, भारदह, पोर्ताहा, रम्पुरा मल्हनिया, लौनिया, तिलाठी, सकरपुरा, कोचाबखारी, बरही बिरपुर सहितका विभिन्न गाविसका किसानहरुले सनपात  खेतिबाट वर्षेनी राम्रो आम्दानी गर्दै आएका छन । 
रम्पुरा मल्हनिया ४ का रामेश्वर यादवले करिब दुई विगहा जग्गामा सनपात  खेति गरेर बार्षिक ५ लाख आम्दानी गर्दै आएको बताउँनुहुन्छ ।
उहाँजस्तै त्यहाँका दर्जनौ किसानहरु सिचाईको उचित व्यवस्था नहुदाँ तथा समयमा वर्षा नभएका कारण धान, गहुँको खेति गर्न छाडेर नगदे बालीको रुपमा सनपात  खेति गर्न थालेका छन । 
सनपात  खेतिबाट सिजन अनुसार राम्रो आम्दानी भईरहेको अर्का किसान बद्री यादवको कथन छ । उहाँ भन्नुहुन्छ, “सनपात को खेती गरेर एक सिजनमा करिब ३ देखी ५ लाखसम्मको आम्दानी हुने गरेकोले अहिले यसलाई नै प्राथमिकता दिएको छु” ।
यसअघि पहिल्लो पटक यादवले सनपात को खेति शुरु गर्दा त्यसबाट आम्दानी हुन्छ कि हुदैन भन्ने डरले ५ कठामा मात्र गर्नुभएको थियो, तर पछि सनपात  खेतिबाट राम्रो आम्दानी हुन थालेपछि अहिले उहाँले करिब ३ विगहा जग्गामा सनपात  खेति गर्दै आइरहनु भएको छ ।
स्थानीय बुद्धिजिवि एवं सप्तरीका वरिष्ठ पत्रकार अनिल कुमार अनल भन्नुहुन्छ, “विगतमा एक मन सनपात  बिक्रि गर्दा किसानले एक भरि सुन किनेर लाने गर्दथ्यो, तर अहिलेको परिवेशमा यो किवदन्ति भइसकेको छ ।”
नगदे बालीको रुपमा सनपात  खेति राम्रै रहेकोले जिल्लाका विभिन्न भेगका किसानहरु सनपात  खेति गरेर राम्रो आम्दानी गर्दै आएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण जिल्लाको पुर्वी, उत्तरी, पश्चिमी र दक्षिणी भेगका विभिन्न गाविसका किसानहरुले सनपात खेति गर्दै आएको कृषि कार्यालयले जनाएको छ ।
अर्को शब्दमा भन्ने हो भने यसको प्रयोग धार्मिक प्रायोजनका लागि समेत गरिन्छ । तिहारमा मिथिलावासीले “हुक्कापाती” (स्थानिय भाषा) बनाएर पुजा गर्ने गर्दछन् । तिहार अन्तरगत लक्ष्मी पुजाको दिन मिथिलावासीले आफ्नो कुल देवतालाई “हुक्कापाती” बनाएर पुजा गर्ने गर्दछन् भने पुजा पश्चात् त्यही “हुक्कापाती” हातमा लिएर एक अर्कासँग रमाइलो गरि खेल्ने गर्ने गरेको बेल्ही चपेना गाविसका स्थानीय पुरोहित बद्री झाले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “सन्ठी बिशुद्ध पानीबाट उब्जिएकोले यसको प्रयोग धार्मिक प्रयोजनका लागि शुद्ध मानिनाले यसको प्रयोग पुजामा गरिन्छ ।”