News Category 2073/06/10

सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुईको मृत्यु, तीन घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
सप्तरीमा छुट्टाछुट्टै घटनामा परी एकै दिन दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 
सप्तरीको सिम्राहासिग्यौन गाविस ८ मा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने रामअधिन यादवको १४ वर्षीय छोरा भोला नाथ यादवको मृत्यु भएको हो ।
यादवले आफ्नै घरमा मोवाईल फोन चार्ज गर्न खोज्दा विद्युतको तार सर्ट भई अचानक करेन्ट लागेर गम्भीर घाइते भएको तथा घाईते यादवको उपचारको क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ मा मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका ८ बस्ने ५० वर्षिय बिष्णुदेव पासवान रहेको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । ठक्करबाट घाईते पासवानको उपचारको क्रममा मृत्यु भएको हो । 
पासवानलाई शनिबार विहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको स. ३ प ३२२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेका पासवानलाई उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उहाँको सोही प्रतिष्ठानमा मृत्यु भएको हो । यता ठक्कर दिने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक बालकसहित तीन जना घाइते भएका छन् । 
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ मा को २२ प ९६३६ नम्बरको मोटरसाइकलले ठक्कर दिएर सोही ठाउँ बस्ने ११ वर्षिय धिरज यादव घाइते भएका छन् । यादबलाई बाटो काट्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट यादवको टाउको र शरिरमा चोट लागेको छ । उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय रुपनीमा राखिएको छ । 
त्यसैगरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा पश्चिमबाट आउदै गरेको बा. २४ प. ८८२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएको छ ।
सो दुर्घटनामा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका ८ बस्ने २८ वर्षिय सुन्दर सदा र शम्भुनाथ नगरपालिका २ बस्ने १५ वर्षिय शंकर सदा घाइते भएका हुन् । दुवै जना घाइतेलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट