News Category 2070/06/09

छिमेकीबाट बलात्कृत बालिका गर्भवती भइन्

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ८ असोज । 
छिमेकीबाट पटक पटक यौन शोषणमा परेकी सप्तरीकी एक १३ वर्षीया बालिका गर्भवती भएकी छिन् ।
बनैनियाँ गाविस–३ निवासी १९ वर्षीय अशोककुमार पण्डितले आफूलाई आठ महिनादेखि पटक–पटक बलात्कार गरेको पीडितले बताएकी छिन् । 
सो सम्बन्धमा पण्डितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सोमबार किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित बालिकाको शारीरिक अवस्था र बयानका आधारमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडित बालिकाकी आमाले पीडितको सुरक्षा र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि अञ्चल अस्पताल राजविराजले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएपछि उहाँको धरानमा स्वास्थ्य परीक्षण गरिने अस्पतालले जनाएको छ । पीडित बालिकाले घरमा कोही नभएको बेला आउने पण्डितले आफूलाई डरधाक देखाई बलात्कार गर्ने गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिने गरेको पिडीतले बताइन् ।
गत असोज ३ गते साँझ ६ बजे मजदुरीबाट फर्केकी पीडितकी आमाले नाङ्गो अवस्थामा रोइरहेकी छोरीलाई सोधपुछ गर्दा आठ महिनादेखि उनी बलात्कृत भइरहेको थाहा पाएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट