News Category 2073/07/07

देशमा पुनः शान्ति आउदैछ ः राष्ट्रपति भण्डारी

दैनिक समाचारदाता

राजविराज÷राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा विगतको दुई दशक यता अशान्ति भइरहेकोमा अब मुलुकमा पुनः शान्ति आउने विश्वास व्यक्त गर्नुभएको छ । 
मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिरमा पुजापाठ एवं लक्ष्यचण्डी रुद्रीमहायज्ञ हवणकुन्ड स्थलको शिलान्यास गर्न शनिबार आउनु भएकी राष्ट्रपति भण्डारीले सो विश्वास व्यक्त गर्नुभएको हो । 
पूजापछि छिन्नमस्ता मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले धार्मिक, साँस्कृतिक र जातीय विविधताले भरिपूर्ण  नेपालका प्रत्येक नागरिक कुनै पनि भेदभाव नराखी शान्ति एवम् मानवकल्याणमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले  दुई दशकदेखि मुलुकमा विद्यमान अस्थिरता, भेदभाव र द्वन्द्वले कसैलाई हित नहुने हँुदा त्यसलाई त्यागी सबैले विकासको बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो ।  
राष्ट्रपति भण्डारीले मन्दिरमा आफूले देशमा शान्ति र सबैको कल्याणको कामना गर्दै आराधना गरेको जानकारी दिदै छिन्नमस्ता भगवती मन्दिरको आफ्नै ऐतिहासिक तथा पौराणिक महत्व रहेकोमा यसको विकासका लागि स्थानीय निकाय र सरकारले यथाशीघ्र पहल गर्नुपर्ने बताउनुभयो । 
समारोहमा मन्दिरका पीठाधीश ठाकुर र छिन्नमसता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले राष्ट्रपतिको स्वागत गर्दै अभिनन्दनपत्र पनि चढाउनुभएको थियो । 
राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा आगामी चैत १६ गतेदेखि राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक हुन लागेको एक हजार आठ लक्ष्यचण्डी रुद्रमहायज्ञको हवणकुन्ड स्थलको शिलान्यास गर्नुभयो । त्यसपश्चात् राष्ट्रपतिद्वारा मन्दिरका पीठाधीश महाकान्त ठाकुरबाट टीका र प्रसाद ग्रहण गर्नुभयो । 
विश्वका १०८ शक्तिपीठमध्ये ५२ औँ शक्तिपीठका रुपमा छिन्नमस्ता मन्दिर रहेको मन्दिरलाईसरकारले २०६५ सालमा शक्तिपीठ घोषणा गरेको पीठाधीश ठाकुरले जानकारी दिनुभयो । विसं २०६५ मा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका उपस्थितिमा पूर्वाञ्चलको १६ जिल्लाका विविध सम्मेलनमा जगत्गुरु बालसन्तले छिन्नमस्ता भगवती मन्दिरलाई शक्तिपीठ घोषणा गरेको बताइएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणालगायत १३ माग गरिएको छ । 
सप्तरी जिल्लावासीका तर्फबाट छिन्नमस्ता गाविसका निर्वतमान  अध्यक्ष सत्यनारायण यादवले मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र दिँदै सो माग गर्नुभएको हो । 
अनुरोधपत्रमा छिन्नमस्ता–राजविराज–रुपनी–गाईघाट सडक निर्माणमा पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने, राजविराज विमानस्थल नियमित रुपमा पुनःसञ्चालन गरिनुपर्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विकास गर्नुपर्ने,  छिन्नमस्तामा रहेका गोविन्दपुर र बनैनियाँ छोटी भन्सार पुनःसञ्चालन गर्नुपर्ने, छिन्नमस्ता मन्दिरबाट ३० किमी दूरीमा रहेको निर्मली रेल्वे स्टेसन विस्तार गरी छिन्नमस्ता गाविसको सीमासँग जोड्नुपर्ने उल्लेख छ । 
त्यस्तै मन्दिर परिसरमा सुविधासम्पन धर्मशाला र  अतिथि गृह, राजविराज सडकको सम्पूर्ण निर्माण, स्वास्थ्य चौकीमा चिकित्सकको दरबन्दी, एम्बुलेन्सको व्यवस्था हुनुपर्ने माग गरिएको छ । 
जिल्लाको एक मात्र संस्कृत विद्यालय प्लस टुमा  परिणत गर्नुपर्ने, छिन्नमस्ता, बनैनियाँ र शम्भुनाथ सडक निर्माण गर्नुपर्ने, राजविराजस्थित राजरङ्गशाला पुनःनिर्माण गर्नुपर्ने र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्तरोन्नति गर्नुपर्ने लगायत माग पनि गरिएको छ ।  
कार्यक्रममा मैथिली संस्कृति अनुसार राष्ट्रपति भण्डारीलाई बस्त्र र खानेकुरासहितको भार (कोसेली) समेत प्रदान गरिएको थियो ।
राष्ट्रपति भण्डारीसित उनकी छोरीद्वय उषा किरण र निशा कुसुमसहित राष्ट्रपति कार्यालयका केही कर्मचारी समेत रहेका थिए । बिहान साढे १० बजे ९ एन आएजे हेलिकप्टरबाट सखडा आइपुगेकी राष्ट्रपति भगवती दर्शन, पुजा र शिलान्यासपश्चात् १ घण्टापछि विराटनगरतर्फ लागेकी थिइन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट