News Category 2073/07/08

नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरीमा हरुव चरुवा प्रथम राष्ट्रिय सम्मेलन हुँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरी जिल्लामा हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । 
जिल्ला सदरमुकाम राजविराजमा कात्तिक ९ र १० गते सो सम्मेलन हुन गइरहेको हरुवा चरुवा अधिकार मञ्च प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । 
मध्य तराईको पर्सादेखि पूर्वी तराईको सुनसरी जिल्लासम्म विभिन्न गाउँ बस्तीमा बसोवास गरिरहेका करिब एक लाखको हाराहारीमा रहेका हरुवा चरुवाहरुको संगठन हरुवा चरुवा अधिकार मञ्चद्वारा हरुवा चरुवालाई क्षतिपूर्ति, पुनःस्थापना र मुक्तिको घोषणा, संविधान कार्यान्वयन र अधिकारका लागि प्रथम राष्ट्रिय सम्मेलन भन्ने नारासहित सम्मेलनको आयोजना गर्न लागिएको समितिका प्रचार विभागका प्रमुख मणि विश्वकर्माले जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा उहाँले राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा सिरहा, सप्तरी जिल्लाका गाउँ गाउँबाट करिब पाँच हजार हरुवा चरुवा बँधुवा कृषि मजदूरहरुको सहभागितामा ¥यालीसहित सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो । 
सो सम्मेलनमा मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरी जिल्लाबाट चयन भएर आएका पाँच÷पाँच जनाका दरले ४५ जना प्रतिनिधि पर्यवेक्षक र हरुवा चरुवाहरुकै नियति भोगिरहेका मध्य र सुदूर पश्चिम नेपालका मुक्त घोषणा गरिएका हलिया, कमैया र कमलहरी अगुवाहरुको सहभागितामा बन्द सत्र संचालन हुने जनाइएको छ । 
यस्तै सम्मेलनले हरुवा चरुवाको मुक्तिका लागि राजविराज घोषणा पत्र जारी गर्दै सम्मेलनको कार्तिक १० गते समापन हुने जानकारी दिइएको छ । 
यसैगरी पत्रकार सम्मेलनमा मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरी जिल्लाका १ लाख हरुवा चरुवा परिवार रहेको जनाउँदै विश्वकर्माले उनीहरुका लागि बस्ने ठाउँ नरहेपनि गाउँ ब्लक बाटो छेउमा तथा ऐलानी जग्गामा घर बनाई जसोतसो बसोबास गरिरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट