News Category 2073/07/19

चार दिनसम्म मनाइने छठ पर्व आजदेखी विधिवत रुपमा सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक । 
छठ पर्व आज (शुक्रबार) देखि विधिवत रुपमा सुरु भएको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।
सप्तरीमा पनि छठ पर्वका लागि धमाधम तयारी भइरहेको छ भने पुजा सामाग्रिहरु किनमेलका लागि अहिले बजारमा चहलपहल बढेको छ । 
छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ । पूर्णरूपमा शकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ ।  
यता छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय युवकहरूले समिति बनाई व्यवस्थापन गर्ने गरेका छन् भने यो पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाइन्छ ।
राजविराज वडा नम्बर १ स्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठका लागि स्थान ओगटदै छन् ।
सुरुमा तराइवासीहरूले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठ पर्वको अवसरमा सार्वजनिक विदा समेत दिने गरेको छ । 
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लहसुन, प्याज नहाली कालो नुन प्रयोग गरि खाना खाने गर्छन् । 
यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।
पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पुजा गर्ने गर्छन् । र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पुजा गरि समाप्त हुन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट