News Category 2073/08/11

स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. राउतसहित सयौं पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 
स्वतन्त्र मधेश गठबन्धनले शुक्रबार राजविराजसहित मधेशका १५ जिल्लाहरुमा एकै साथ रंगभेद बिरुद्धको दिवस मनाएका छन् । सो क्रममा मधेशका जिल्लाहरुबाट सयौं गठबन्धनका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट नगरपालिका रोडहुँदै गठबन्धनका नेता कार्यकर्ताहरुले जुलुस निकालेका थिए । तर, प्रहरीको हस्तक्षेप पछि उनीहरुले बाटो परिवर्तन गरि जिल्ला प्रशासन कार्यालय सडक हुँदै जुलुस निकालेका थिए । जुलुस गजेन्द्र चौकमा पुगेपछि पुनः प्रहरीले हस्तक्षेप गर्न खोजेपछि उनीहरुले सोही स्थानमा कोण सभा सम्पन्न गरेका थिए । 
कोण सभामा डा. बिरेन्द्र यादव, गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, राजनारायण यादव, मो. उस्मान मियाँलगायतका वक्ताहरुले मुलुकमा देखिएको रंगभेदबिरुद्ध आफूहरु लागिपरेको बताउनुभयो । 
प्रहरीले गठबन्धनका नेता कार्यकर्ताले स्वतन्त्र “मधेश स्वराज” लेखिएको टोपी, झण्डा तथा व्यानरहरु खोसेका थिए ।
यस्तै स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा जनकपुरधामको शिव चौकबाट डा.राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
शिब चौकमा आयोजित सभालाई सम्बोधन गर्न सुरु गरेको एक मिनेट नपुग्दै डा.राउतलाई कार्यक्रम स्थलबाट पक्राउ गरिएको हो ।
हाल डा.राउतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
यसअघि बारह विगहाबाट निस्केको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी करिब २६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल सरकारले मधेशीहरुलाई रंगको आधारमा विभेद गर्दैै आएको विरोधमा शुक्रबार मधेशभरी रंगभेदी दिवस मनाईएको गठबन्धनले जनाएको छ । 
गत सार्क सम्मेलनको क्रममा मंसिर १० गते काठमाडौंबाट करिब चार सयभन्दा अधिक मधेशीहरुलाई रंगको आधारमा सरकारले पक्राउ गरेको बिरोधमा आजको दिनलाई उनीहरुले रंगभेद बिरुद्धको दिवस गत वर्षदेखी बनाउँदै आएका छन् ।
यता कपिलबस्तुबाट स्वतन्त्र मधेश गठबन्धनका २१ जना कार्यकर्तासहित चार जना बटुवालाई पनि नेपाल प्रहरीले पक्राउ गरेको छ । त्यस्तै स्वतन्त्र मधेश गठबन्धन कपिलबस्तुका संयोजक हकिकुल्लाह खानलाई प्रहरीले विहानै पक्राउ गरेको थियो ।
त्यस्तै रौतहटबाट २० जनालाई पक्राउ गरिएको छ । त्यस्तै नवलपरासीबाट १३ जनालाई पक्राउ गरिएको छ । त्यस्तै, नेपालगंजबाट करिब ५० जना पक्राउ परेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट