News Category 2073/08/30

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
सप्तरी, सुनसरी र झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  
सप्तरीको कंचनपुरमा मंगलबार मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल पछाडी सवार एक जनाको मृत्यु भएको छ भने साइकलयात्रीसहित अन्य दुई जना घाइते भएका छन् । 
को १७ प ६८९० नम्बरको मोटरसाइकलले कंचनरुप नगरपालिका ७ मा साइकलयात्रीलाई जोगाउन खोज्दा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार रहेका सुनसरी ईनरुवा नगरपालिका २ का अन्दाजी ५९ वर्षिय नारायण भट्टराई छन् । 
दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृत्यु भएको हो । 
यता सो दुर्घटनामा मोटरसाइकल चालक सुनसरी ईनरुवा २ का महेश भट्टराई र साइकलमा सवार कंचनरुप नगरपालिका ७ का २८ वर्षिय मधु साह घाइते भएका छन । साह मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएका हुन । उनको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मोटरसाइकल चालकलाई सगरमाथा अंचल अस्पताल लगिएको छ । 
यसैगरि कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी भलुवा नगरपालिका ४ मा मंगलबार टिपरले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको छ । 
मृत्यु हुनेमा मोरङ पथरी(शनिश्चरे नगरपालिका ४ बस्ने अन्दाजी ४० वर्षका नारायण लुईटेल रहेका छन । लुईटेललाई ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को. १ ख ४६६९ नम्बरको टिपरले ठक्कर दिएको थियो । 
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकालागी बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । टिपर र चालक इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
यस्तै झापाको दमक नगरपालिका १० मा मंगलबारराती नम्बर नखुलेको कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा मे ८ प ११९३ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका ६ मङलबारे बस्ने ३९ वर्षिय राजन कुँइकेल रहेका छन । कुईकेललाई दमक १० राजमार्गमा नम्बर नखुलेको निलो कारले ठक्कर दिएको थियो । 
ठक्करबाट गम्भीर घाइते भएका चालकलाई उपचारकालागी लाईफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर पश्चात् फरार कार तथा चालकको प्रहरीले खोजी गरिरहेको जनाएको क्षेत्रिय प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट