News Category 2073/09/22

ट्रकको ठक्करबाट बालकको मृत्यु बिरोधमा स्थानीय र प्रहरीबीच झडप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खोजपुर ८ मा बिहिबार दिउँसो करिब ४ बजे मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको छ । घटनाको बिरोधमा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । 
ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा ९ का लक्ष्मण रामको छोरा अर्जनुकुमार राम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.२ ख. ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 
यसैबीच घटनाको बिरोधमा स्थानीवासीहरुले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगो समेत लगाएका छन् । तर, ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो । सोही क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
सो झडपको क्रममा प्रहरीले भिडलाई तितरबितर गर्न दश राउण्ड अश्रृ ग्यास समेत गरेको छ । यता स्थानीयहरुले फ्यालेको ढुंङ्गाबाट केही प्रहरी घाइते भएको स्थानियहरुले बताएका छन् । झडपका कारण करिब तीन घण्टा राजमार्ग अवरुद्ध समेत भएको थियो । 
यता प्रहरी बालकको शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको छ । ठक्कर दिने टूक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट