News Category 2073/09/29

भुक्तानीमा कमिशनको कुरा नमिलेपछि प्रमुख र अधिकृतबीच कुटपिटको प्रयास

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ पुस । 
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा बिहीबार कार्यालय प्रमुख र अधिकृतबीच कुटपिटको प्रयास भएको छ । रकम भुक्तानीमा कमिशनको कुरा नमिलेपछि उक्त अवस्था सृजना भएको जनस्वास्थ्य श्रोतले जनाएको छ । 
जनस्वास्थ्य कार्यालयका प्रमुख हरिश्चन्द्र साह र तथ्यांक अधिकृत छेदी यादवबीच कार्यालय परिसरमै आवश्यक रकम भुक्तानीमा कमिशनको कुरा नमिलेपछि कुटपिटको प्रयास भएको श्रोतको दाबी छ । 
पुस्तक छपाईसहितका कार्यक्रमहरुको बील भरपाई अधिकृत यादवले कार्यालय प्रमुख साह समक्ष पेश गरेको दुई साता बढी हुँदा पनि निकासा नहुँदा यादवले साहलाई गालीग्लौज गर्दै कुटपिटको प्रयास गरेका हुन् । 
अधिकृत यादवले आफुले सम्पन्न गरेको कार्यक्रमहरुको रकम निकासाका लागि पटक पटक  प्रमुख समक्ष आग्रह गरेको बताउनुभयो भने प्रमुख साहले आफुमाथि यादवले सोही विषयलाई लिएर झण्डै कुट्ने प्रयास गरेको दाबी गर्नुभयो । 
कार्यालय प्रमुख साह र अधिकृत यादवबीच बिहीबार भएको असहज स्थितीले दिनभरि कार्यालयको कामकाज प्रभावित भएको थियो । 
यसैबीच घटनाबारे बुझ्न दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट