News Category 2073/10/10

वैशाख अन्तिम सातामा स्थानिय निर्वाचन हुने !

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ९ माघ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता स्थानीय चुनाव हुने घोषणा गर्नुभएको छ । 
काठमाडौंमा आइतबार ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचनका क्रममा सो घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा गर्न ढिलो हुन लागेको जिकिर गर्नुभयो । 
उहाँले तीन दलबीच सहमति भएको भन्दै ९ गतेदेखि १५ गतेभित्र निर्वाचनसम्वन्धी विधेयक संसदबाट पारित गर्ने र निर्वाचन आयोगलाई दिइने जानकारी दिनुभयो । साथै उहाँले मधेसी मोर्चालाई चुनावमा ल्याउन अर्को संविधान संशोधन विधेयक ल्याउने प्रस्ताव गर्नुभयो ।
आयोगले १०० दिन मागेको भन्दै प्रधानमन्त्री प्रचण्डले छिटोमा वैशाख २५ गते र ढिलोमा ३० गतेसम्म स्थानीय तहको निर्वाचन गर्न सम्भव हुने उल्लेख गर्नुभयो । 
वैशाखको अन्तिम हप्ताबाट सुरु गरेर जेठको पहिलो सातासम्म चुनाव गर्न सकिने उहाँले बताउनुभयो ।
स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । र, निर्वाचन आयोगले स्थानीय तहको चुनाव दुई वा तीन चरणमा गर्नु पर्ने प्रस्ताव गरेको छ ।
निर्वाचनको कुरा गर्दै गर्दा संविधान संशोधनलाई छाड्न नसकिने भन्दै उहाँले सरकारले संसदमा दर्ता गराएको संशोधन अघि बढाउने विकल्पहरु प्रस्तुत गर्नुभयो । 
प्रधानमन्त्री प्रचण्डले अर्को तरिकाद्वारा पनि यस्तो संशोधन, जसले स्थानीय चुनावमा सहभागी हुन मधेसी मोर्चालाई पनि ढोका खोल्छ भन्ने विश्वासका साथ हिँडेको बताउनुभयो ।
चुनाव घोषणा र संशोधनबारे मधेसी मोर्चा र संघीय गठवन्धनसँग सहमति खोजिने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट