संघीय व्यवस्थाबाट देशको विकास हुन्छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
Friday, January 27, 2017
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
नेपाल भारत मैत्री युवासंघ सप्तरी शाखाले ६८ औं भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा मधेशमा भारतीय लगानी र उपलब्धी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सप्तरी शाखाका अध्यक्ष किशोर कुमार यादवको अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रियामा प्रमुख अतिथी खुशीलाल मण्डलले मधेश बनाउनका लागि दृढ संकल्पको साथ काम गर्नुपर्ने बताउँदै अनिमात्र मधेशको विकास सम्भव हुने कुरामा जोड दिनुभयो । भारतको संघीय व्यवस्थाबाट देशको विकास हुन्छ विखण्डन हुँदैन भन्ने कुरा नेपालका नेताहरुले शिक्षा लिनु पर्ने उहाँले जिकिर गर्नुभयो ।
हालैको सरकारको वर्क पर्मिटको निर्णयले मधेशले गम्भिर भएर सोच्नुपर्ने बताउनुहुँदै उहाँले भारतको लगानीले मधेशको प्रत्येक क्षेत्रमा ठूलो विकास भएको दाबी समत गर्नुभयो ।
सो कार्यक्रममा स्थानिय विकास अधिकारी सुदेव पोखरेलले भारतीय लगानीमा राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासका लागि दुतावास मार्फत पठाइएको ३५ लाख रकम जिल्लाका राजनीतिक दलहरुले अन्यत्र लगाएको खुलासा गर्नु्भयो ।
उहाँले हालै सांसद त्रय जितेन्द्र नारायण देव, सकलदेव सुतिहार र श्रीमती मथिला चौधरीले संसदीय कोषको तीन करोड रकम मध्ये कन्या छात्रावासमा लाग्ने रकम र बाँकी रकम अन्य विकास कार्यमा लगाउन प्रस्ताव पारित गरिएको जानकारी दिनुभयो । तर, सांसद उमेश कुमार यादवले सो कुरालाई अस्विकार गर्दै तीन करोड रकम अन्य विकासीय कार्यमा खर्च गर्न अडान राख्नु भएको कुरा सार्वजनिक गर्नुभयो ।
सो अवसरमा क्याम्पस प्रमुख डा. शर्वेशचन्द्र मिश्र, सद्भावना पार्टीको केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, श्रीमती पुनम यादव, प्राध्यापक डा. हेम कुमार मिश्र, प्राध्यापक गजेन्द्र कुमार सिंह (यादव), सहायक क्याम्पस प्रमुख मिथिलेश कुमार यादव, डा. अवध किशोर सिंह, ई.सुगम्बर यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, महिलामञ्चको उपाध्यक्ष मञ्जु लता यादव, प्राध्यापक शिव नारायण यादव, शान्ति समितिको अध्यक्ष निरञ्जन झा, विद्यार्थी नेता देव नारायण प्रमाणी, विद्यार्थी मञ्चको जिल्ला अध्यक्ष शम्भु यादव, नगर उपाध्यक्ष प्रमोद यादव, गोपाल गुप्ताले ६८ औं गणतन्त्र दिवसको उपलक्ष्यमा भारतीय जनतालाई शुभकामना व्यक्त गर्नुको साथै भारतीय लगानीको मधेशमा प्रत्येक क्षेत्रमा ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो ।