News Category 2073/10/20

राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
मधेशी पत्रकार समाजले जनकपुरबाट शुरु गरेको आम संचार जागरण अभियान अन्तरगत बुधबार राजविराजमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । 
आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप लगाउँदै सो विभेदबिरुद्व लड्नुपर्ने बताएका छन् ।
सो कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी तथा जिल्लाका संचारकर्मीहरुले नेपाल पत्रकार महासंघ छाता संगठन भएपनि आफ्नो दल र समुदायका लागि मात्रै काम गरिरहेको आरोप लगाउँदै प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ दुबै मधेशबिरोधी रहेको ठहर गरेका छन् । 
प्रेस काउन्सिल नेपालले मधेशका पत्रिकाहरुलाई वर्गीकरणबाट झारेर मधेशबिरोधी चरित्र देखाएको भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको जिकिर गरे । 
मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिबारी, तराई मधेश लोकतान्त्रिक पार्टीका सह महामन्त्री जयप्रकाश ठाकुर, फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य शैलेश चौधरी, मधेशी मोर्चा सप्तरीका संयोजक एवं नेपाल सद्भावना पार्टीका अध्यक्ष अमरनाथ मण्डल, सद्भावना पार्टीका अध्यक्ष सुनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सतिश सिंह, अधिबक्ता अशोक चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, सचिव ओमप्रकाश साह, पत्रकार शुभचन्द्र झा, पंकज झा सहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट