News Category 2073/10/21

अस्पताल सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पुनःअनसनमा बस्ने तिवारीको चेतावनी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकासकुमार तिवारीले स्वास्थ्य मन्त्री गगण थापासँग अस्पताल सुधारको माग सम्बन्धमा भएको सम्झौता हालसम्म पनि कार्यान्वयन नभएको भन्दै पुनः अनसनमा बस्ने चेतावनी दिनुभएको छ । 
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज परिसरमा बिहीबार उहाँले पत्रकार सम्मेलनको आयोजना गरि स्वास्थ्य मन्त्री गगण थापासँग भएको सम्झौता माघ मसान्त भित्र कार्यान्वयन नभए पुनःआमरण अनसनमा बस्ने चेतावनी दिनुभएको हो । 
गत मंसिर ८ गते गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको सुधारको माग गर्दै अनसन थाल्नु भएको १८ दिनपछि स्वास्थ्य मन्त्री गगण थापाबीच ४ बुँदे सहमति पश्चात् उहाँले अनसन तोड्नु भएको थियो । 
सो पत्रकार सम्मेलनमा मन्त्री थापाको उपस्थितिमा भएको सम्झौता अनुसार अस्पताल सुधारको लागि हालसम्म ठोस प्रगति नभएकोप्रति खेद व्यक्त गर्दै यथाशिध्र सम्झौता कार्यान्वयनका लागि आग्रह गर्नुभएको छ । 
उहाँले जारि गर्नु भएको प्रेस विज्ञप्तिमा अस्पतालमा निर्माणाधिन अवस्थामा रहेको प्रसुति गृहको निर्माण कार्य १५ दिन भित्र कार्य प्रारम्भ गराउने सहमति भएकोमा हालसम्म कार्य प्रारम्भ नभएको, अस्पतालमा वालरोग, मुटु रोग विशेषज्ञ लगायत जम्मै विषयका विशेषज्ञ चिकित्सकको पुर्ति १ महिनामा गर्ने भनिए पनि सो अनुसारको चिकित्सकहरु हालसम्म उपलब्ध नभएको, अस्पतालका लागि खरिद गर्नु पर्ने डाईलाईसिस, सर्जरीका उपकरण, डिजिटल एक्स रे, एनालाईजर लगायतका अंचल अस्पताल स्तरका सबै उपकरणहरु खरीद गरिने कार्यमा मन्त्रालयबाट सहजीकरण गरि अविलम्ब सुविधा सम्पन्न बनाउने विषयमा हालसम्म कुनै प्रगति नभएकोमा सो अनुुसारको उपकरणहरु तत्काल पुर्ति हुनु पर्ने माग गर्नुभएको छ । 
यस्तै आर्थिक वर्ष २०७२÷०७३ को विकास र साधारण शिर्षकको बजेट तथा जिन्सी सामग्रीहरुको विवरणको सुचना उपलब्ध गराउनका लागि ७ दिन भित्रमा  कार्यान्वयन गर्ने भनिएकोमा सो तत्काल उपलब्ध गराउनु पर्ने माग, अस्पतालले प्रवाह गर्नु पर्ने सेवाहरु अनियमिता, भ्रष्टाचार लगायतको अस्पतालको स्तरोन्नती र विशेषज्ञसहित विशेष प्याकेजको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रमुख विशेषज्ञको अध्यक्षतामा एक उच्च्स्तरीय छानवीन समितिको गठन गर्ने भनिएकोमा सो समितिको गठन भई समितिका पदाधिकारीहरुले अस्पताल अनुगमनको क्रममा प्रत्यक्ष रुपमा देखेको अनियमितता र भ्रष्टाचारको कृयाकलापको बारेमा आवश्यक कारवाही नभएकोमा आश्चर्यचकित भएको जनाइएको छ । 
यस्तै विज्ञप्तिमा अस्पतालको तर्फबाट प्रदान गर्ने विरामीको खाना, नास्ता, फलफुल तथा विरामीले पाउने औषधीहरुको विवरण लगायतको सेवाको सम्बन्धमा नागरिक वडा पत्र कम्तिमा ५ वटा बनाई अस्पताल परिसरमा सबैले देख्ने गरी ठाउँ ठाउँमा राख्ने भनिएकोमा हालसम्म कुनै पहल नभएकोमा सो अनुुसारको कामकारवाही तत्काल हुनुपर्ने, अस्पतालका तर्फबाट प्रदान गर्ने विरामीको खाना, नास्ता, फलफुल तथा विरामीले पाउने औषधीहरुको विवरण लगायतको सेवा सम्बन्धमा स्थानीय संचार माध्यममा नियमित सुचना प्रवाह अस्पताल मार्फत गराउने भनिएकोमा सोको कार्यान्वयन हालसम्म नभएकोमा सो अनुसारको काम कारवाही हुनु पर्ने माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट