News Category 2073/10/29

नेमकिपाको किसान सम्मेलनमा मोर्चाको बिरोध, दुई दर्जन पक्राउ, मुलुक विदेशीमय भयो ः सचिव प्रजापति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 
नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुने क्रममा शुक्रबार राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । 
मजदुर किसान पार्टी मधेश र संघीयता विरोधी भएको भन्दै मोर्चा कार्यकर्ताहरुले स्थानिय शिव मन्दिरमा हुन लागेको सम्मेलनको उद्घाटन विथोल्न खोज्दा मोर्चाका नेता कार्यकर्ता तथा प्रहरीबीच झडप समेत भएको छ । प्रहरीले बिरोध गर्दै गरेका रामसपाका सप्तरी अध्यक्ष सतिश सिंह, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवलगायत दुई दर्जन बढी नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । 
सम्मेलनको उद्घाटन गर्न नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले आउने कार्यक्रम तय भएपनि झडपलगत्तै उहाँ स्वास्थ्यका आउन नसक्ने उद्घोष गरिएको थियो । 
यता किसान संघको राष्ट्रिय सम्मेलनको उद्घाटन नेमकिपा केन्द्रिय सचिव सुनिल प्रजापतिले गर्नुभएको थियो । प्रहरी घेरामा उद्घाटन सत्र सुरु भएको थियो । 
सम्मेलनको उद्घाटन गर्दै प्रजापतिले मुलुक विदेशीमय हुन थालेको भन्दै विदेशीको इसारामासमेत मुलुक चल्न थालेको आरोप लगाउनुभयो । 
पार्टीले आफ्नो घोषणा पत्र दिएर कार्यकर्तालाई जनता समक्ष पु¥याउनुपर्नेमा एनजिओको झोला दिएर पठाउने गरेको र मुलुकका बुद्विजिवी भनाउँदाहरु पनि विदेशी भाषा बोल्ने तथा विदेशीसँगै विवाह गर्ने क्रम बढेपछि राष्ट्रियता कमजोर हुँदै गएको उल्लेख गर्नुभयो ।
उद्घाटन सत्रमा पार्टीका जिल्ला अध्यक्ष एवं किसान संघका केन्द्रिय सदस्य दिगम्बर यादव, शिक्षक संघका अध्यक्ष दिर्घ बहादुर शाही लगायतले बोल्नु भएको थियो । 
५० जिल्लाका ३ सय प्रतिनिधी पर्यवेक्षकहरुले राष्ट्रिय सम्मेलनमा सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलन दुई दिनसम्म चल्ने छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट