News Category 2073/11/12

राजविराज नगरपालिकामा तोडफोड, जिशिकामा ढुङ्गामुढा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधबार बिहान सप्तरीको राजविराज नगरपालिका भवनमा तोडफोड गरेका छन भने जिल्ला शिक्षा कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेका छन् ।
आन्दोलनकारीहरुले फ्यालेको ढुङ्गाबाट नगरपालिका कार्यालय भवनको झ्यालका सिसा तथा ढोकाहरु टुटफुट भएको छ भने आन्दोलनकारीहरु कार्यालय भवनमा प्रवेश गरेर नगरपालिकाका कार्यकारी अधिकृतको साइन बोर्ड समेत फुटाईदिएका छन् । 
यता बुधबार दिउँसो बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै जिल्ला शिक्षा कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेको बताइएको छ । सो ढुङ्गामुढाबाट आंशिक क्षति भएको शिक्षा कार्यालयले जनाएको छ । 
बिहानैदेखी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरु विभिन्न नाराबाजी गर्दै राजविराजमा जुलुस प्रदर्शन गरेका छन् । सो जुलुसले सरकारी कार्यालयहरु समेत बन्द गराएका छन् । सरकारी कार्यालयहरु बन्द गराउने क्रममा मोर्चा तथा प्रहरीबीच पटक पटक झडपको अवस्था सृजना समेत भएको थियो । 
बन्दका कारण राजविराजबाट चल्ने लामो तथा छोटोदुरीका सवारीसाधानहरु चल्न सकेका छैनन् भने पसल तथा विद्यालय समेत बन्द गरिएको छ । यसैगरि पूर्वपश्चिम राजमार्गमा समेत बन्दका कारण बुधबार कुनै सवारीसाधन चल्न सकेन् । जिल्लाको भारदह, कंचनपुर, कल्याणपुर, पातो, कदमाहा, हनुमाननगर लगायतका बजारहरुमा समेत बन्दको प्रभाव परेको छ । 
परिमार्जनसहित संविधान संशोधन नगरि सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै मेधशी मोर्चाले बुधबार एक दिने बन्दको आह्वान गरेको हो । 
आगामी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेको भन्दै मोर्चाले फागुन ११ गते गरेको मधेश बन्दको पूर्वसन्ध्यमा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट