News Category 2073/11/19

राजविराजस्थित एक निजि विद्यालयमा पुनःबम फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ फागुन । 
सप्तरी सदरमुकाम राजविराज वडा नं. ५ स्थित लक्ष्मी बार्डिङ स्कुलमा बुधबार बिहान पुनःएक सकेट बम फेला परेको छ । 
एक दिन नबित्दै राजविराजको अर्को एक निजि विद्यालयमा सकेट बम फेला परेको हो । यसअघि मंगलबार मात्र राजविराज ९ स्थित राजदेवी सडक छेउमा पिसजोन बोर्डिङ नजिकै पनि सकेट बम फेला परेको थियो । 
बोर्डिङ स्कुलको मेन गेट अगाडी नै सो बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । 
स्कुल खुल्ने समयमा मेन गेटमै बम फेला परेपछि स्कुलका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । विद्यार्थीहरु बाहिरबाटै र फर्किन बाध्य भएका थिए । 
बमका साथै एक दशकदेखी सशस्त्र द्वन्द्वमा रहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा समेत फेला परेको छ । यता राजविराजस्थित श्रीकृष्ण दल गणका सेनाका बम डिस्पोजल टोली बमलाई स्थानिय रंगशालामा लगेर डिस्पोज गरेको थियो । 
एक महिना अघि राजविराजस्थित मेनरोडमा एक व्यक्तिको घरमा गोइत समूहले नै समेत सकेट बम राखेका थिए भने दुई महिना पहिला जिल्ला प्रशासन कार्यालय सप्तरीमै प्रेसर कुकर बम फेला परेको थियो । सो बम निस्कृय पार्न खोज्दा चार सुरक्षाकर्मी घाइते समेत भएका थिए । यता प्रहरीले प्रशासन कार्यालयमा बम राख्ने केही व्यक्तिलाई पक्राउ समेत गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट