News Category 2073/11/21

मोर्चाद्वारा एमाले जिल्ला उपसचिवलाई कालोमसो, सांसद ठाकुरको गाडीमाथी ढुङ्गा प्रहार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
एमालेको मेची–महाकाली अभियानबिरुद्व आन्दोलन घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले शुक्रबार बिहान एक एमालेका नेतालाई कालोमोसो दलेका छन् । 
मोर्चाका कार्यकर्ताहरुले राजविराज १ माछा हटियामा एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका हुन् । 
हटियाको माछा हटियामा रहेका एमाले नेता चौधरीलाई घेरेर कालोमोसो दलेको मोर्चाले जनाएको छ । यता चौधरी मोर्चाको निसानामा परेपनि सँगै रहेका जिल्ला सचिव शम्भु यादवसहितकाहरु भागेका थिए । 
यता शुक्रबारै मोर्चाका कार्यकर्ताहरुले राजविराजमा एमालेकी सांसद रन्जु ठाकुरको गाडीमाथी ढुङ्गा प्रहार गरेका छन् । उनीहरुले पानीट्याङ्की रोडमा सो ढुङ्गा प्रहार गरेको बताएको छ । ढुङ्गा प्रहारबाट गाडीमा भने कुनै क्षति नपुगेको जनाइएको छ । 
एमालेलाई मधेशबिरोधीको संज्ञा दिएको मोर्चाले एमालेको कुनै पनि कार्यक्रम मधेशमा हुन नदिने चेतावनी दिइसकेको छ । मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेशी जनता नै जागेको बताउनुभएको छ । उहाँले एमालेले बलजफ्ती कार्यक्रम गर्न लागेकाले जनता आक्रोशित भएर कालोमोसो दलेको उहाँको भनाई छ । 
पूर्व निर्धारित कार्यक्रम अनुसार एमालेले बिहिबार घरदैलो कार्यक्रम सुरु गरेको छ भने मोर्चाले पनि कालोे झण्डासहित बिरोध प्रदर्शनलाई नरन्तरता दिएको छ ।
बिहीबारै नेकपा एमाले सप्तरीले मेचीमहाकाली अभियान अन्तरगत प्रचारप्रसार गर्दै घरदैलो कार्यक्रम गरिरहदा मोर्चाले सो कार्यक्रम अवरुद्ध गरेको थियो । एमालेको प्रचारप्रसार कार्यक्रम भइरहँदा मोर्चाले अवरुद्ध गरेपछि केहीक्षण एमाले र मोर्चाका नेता कार्यकर्ताबीच झडप भएको थियो । स्थानिय रंगशाला नजिक एमाले कार्यकर्ता पुगेपछि मोर्चासँग झडप भएको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट