News Category 2073/11/24

चारको मृत्यु, अवस्था तनावग्रस्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियान विरुद्ध प्रदर्शन गर्ने क्रममा सोमवार साँझ प्रहरीको गोलीबाट सप्तरीमा चार जनाको मृत्यु भएको छ भने डेढ दर्जन व्यक्ति गोली लागि गम्भिर घाइते भएका छन् । यता प्रहरीको लाठी प्रहारबाट दई दर्ज भन्दा बढी घाइते भएका छन् । 
प्रहरीको गोलीबाट सप्तरीको मलेठ गाबिस वडा नम्वर २ का वर्षीय रन्जन मेहताको घटनास्थलमै मृत्यु भएको छ । टाउकोमा गोली लागेका मेहताको तत्कालै घटनास्थलमै मृत्यु भएको हो । एमाले अध्यक्ष केपी शर्माले ओलीले अभियानको सम्बोधन गरिरहेको अवस्थामा मोर्चाका कार्यकर्ताले औद्योगिक क्षेत्र बाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले सयौं राउण्ड अश्रु ग्यास तथा गोली फायर गरेका थिए ।
त्यस्तै प्रहरीको गोलीबाट गम्भिर घाईते भएका डिमन गाबिस बनौली निवासी अधिवक्ता दिगम्बर यादव, मलेठ ४ का पिताम्बर मण्डल र प्रसवनी ७ का स्वास्थ्यकर्मी आनन्द साहको उपचारको क्रममा मृत्यु भएको छ । यादव, मण्डल र साहको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । 
प्रहरीको गोलीबाट घाइतेहरु मध्ये आधा दर्जनको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर घाइते भएकाहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।
यसैबिच प्रहरी र मोर्चाबीच भएको झडपका क्रममा सद्भावना पार्टीका भिमराज यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंहलगायतका दुई दर्जबढी घाइते भएका छन् । जसमध्ये करिब एक दर्जन भन्दा बढी घाईतेको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते भएकाहरुको तत्काल गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरमा थप उपचारका लागि पठाईएको छ । 
यस्तै प्रहरीले सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सद्भावनाकै दिपेन्द्र चौधरी, संजय यादव, सुरेन्द्र साह, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर यादव लगायत दुई दर्जनलाई पक्राउ गरेको छ । घाइते प्रदर्शनकारीहरुको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ । प्रहरीको गोलीबाट घाईते भएकाहरुलाई हेर्न तथा घटनाको बारेमा बुझन हजारौं प्रदर्शनकारी तथा सर्वसाधारणहरुको सोमबार अवेर रातिसम्म ठुलो संख्यामा भिड लागेको थियो ।
यसैबिच आन्दोलनकै क्रममा दुई मोटरसाईकलमा आगजनी समेत भएको छ । स.४ प ६०५२ नम्बरको मोटरसाईकल र अर्को नम्बर नखुलेको स्कुटिमा आगजनी भएको हो । यता सो घटनापछि सप्तरी तनावग्रस्त अवस्थामा रहेको छ ।
यस्तै झडपका क्रममा तीन जना प्रहरी समेत घाइते भएका छन् । उनीहरु प्रदर्शनकारीले हानेको ढुङ्गा लागि घाइते भएका हुन् । 
यसैबिच एमाले अध्यक्ष केपी ओलीको मेची महाकाली भ्रमणको क्रममा सप्तरीमा भएको चार जनाको हत्याको विरोधमा विभिन्न संघ संस्थाहरुले घोर भत्र्सना गरेको छ । गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले एक विज्ञप्ती प्रकाशन गरी शान्तिपुर्ण आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको घटनाको घोर भत्सर्ना गर्नुभएको छ । साथै मृतक आत्माप्रति चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई धैर्यधारण गर्न छिन्नमस्ता भगवतिले शक्ति प्रदान गरौस भन्ने कामना समेत गरिएको जनाइएको छ । 
साथै जारी विज्ञप्तीमा परिस्थितीलाई मध्यनजर गरी थप हुन सक्ने अप्रिय घटना रोक्नलाई भएपनि एमाले आफ्नो अभियान रोक्नुको सटा जानी जानी दुर्घटना निम्त्याई नागरीकको सुरक्षा दिनुका साथै गोली चलाउने घटनाको भत्सर्ना गरेको छ । सो घटनाको छानबीन हुनुपर्ने तथा दोषीमाथि आवश्य कानुनी कार्बाही हुनुपर्ने माँग समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट