News Category 2073/11/30

सप्तरी घटनाको कारक एमाले ः उपेन्द्र, राजेन्द्र, मृतक परिवारहरुलाई आर्थिक सहयोग प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
मधेशी मोर्चामा आवद्ध दल मध्ये दुई घटकका अध्यक्षहरुले सप्तरीको मलेठ गाविसमा भएको घटनाको जिम्मा नेकपा एमालेले लिनु पर्ने बताएका छन् ।
मलेठमा मृत्यु भएका पाँच जनाप्रति श्रद्वाञ्जली दिन सप्तरी आईपुग्नु भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजविराजमा आइतबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी सो कुरा बताउनु भएको हो ।
संघीय प्रेस फोरम सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको मधेशीप्रतिको घोच्याउने अभिव्यक्ति र हटीका कारण घटना भएको आरोप लगाउनुभयो । उहाँले परिमार्जनसहितको संविधान संशोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन हुनै नसक्ने दाबी गर्दै सरकारले जबरजस्ती निर्वाचन गर्न खोजिए मुलुकमा महाभारत हुने चेतावनी समेत दिनुभयो । 
मधेसीलाई कहिले माक्खे, त कहिले काले, त कहिले चार पाँच वटा आँप झर्दैमा केहि फरक पर्दैैन भन्ने खाले अभिव्यक्ति एमाले अध्यक्षले दिइरहेको अभिव्यक्तिले मधेशी जनता अक्रोसित भएको फोरम अध्यक्ष यादवको कथन छ । 
सरकार उल्टो दिशाबाट हिँडेर बिभिन्न आन्दोलनबाट प्राप्त संघीयतालाई बर्बाद गर्न खोजेको भन्दै प्रादेशिक सरकारले गर्नुपर्ने स्थानीय निर्वाचन गराएर सरकारले संघीयतालाई नै धरापमा पार्न खोजेको उहाँको आरोप छ ।
उहाँले सेना प्रयोग गरेर निर्वाचन गर्न खोजिए त्यो निर्वाचनको कुनै अर्थ नरहने जिकिर गर्नुभयो । यस्तै भारतीय एसएसबीका कारण नेपाली जनताको मृत्यु भएको बारे प्रतिक्रिया दिँदै अध्यक्ष यादवले सरकारले घटना सम्बन्धमा छानबिन गर्नु पर्ने बताउनुभयो । उहाँले सरकारलाई दिएको सात दिने अल्टिमेटम समाप्त भएसँगै मधेशी मोर्चा स्वतः सरकारबाट बाहिरिने जानकारी समेत दिनुभयो । 
त्यस्तै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि मधेश र मधेशीलाई समय समयमा एमालेले घोच्याउने गरि दिँदै आएको अभिव्यक्तिकै कारण मलेठ घटना हुन पुगेको टिप्पणी गर्नुभयो । 
प्रेस मञ्च सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार र एमालेलाई मधेश र मेधशी जनता आक्रोसित छ भनेर बारम्बार अवगत गराइरहँदा पनि एमालेलाई मधेश नजान भनिरहँदा नमानेका कारण घटना हुनपुगेकोले घटनाको जिम्मेवारी एमालेले नै लिनुपर्ने बताउनुभयो ।  
उहाँले मधेस बिरोधी रबैया छाड्न एमालेलाई आग्रह गर्दै मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि बढ्न सुझाव समेत दिनुभयो । उहँँले सप्तरी र कञ्चनपुरमा भएको घटनाको अबिलम्ब छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग समेत गर्नुभयो । 
अध्यक्ष महतोले जसरी मधेशमा एमालेको हालत छ, त्यसरी नै संविधान संशोधन नगरी चुनावमा जान खोजे कांग्रेस र माओवादीको पनि मधेसमा त्यस्तै हालत हुने चेतावनी दिनुभयो । 
यसैबीच अध्यक्ष महतो मृतक पाँचै जनाको घरमा पुगेर परिवारजनप्रति सम्वेदना प्रकट गर्दै सहयोग वापत रु. २५÷२५ हजारको दरले नगद हस्तान्तरण गर्नुभएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिनुभयो ।  
यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि जनही २५÷२५ हजारको दरले पाँचै सहिद परिवारलाई सहयोग प्रदान गर्नुभएको पार्टीका केनिद्रय सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । यस्तै मधेशी अधिकारर्मी एवं अधिवक्ता दिपेन्द्र झाले रु. १५÷१५ हजारको दरले सहिद परिवारलाई सहयोग प्रदान गर्नुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट