News Category 2070/07/01

म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ असोज ।
म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । 
२५ वर्षीया ती महिलालाई सप्तरीको रुपनगर ९ निवासी २३ वर्षिय बालेश्वर यादव, सोही गाविस ८ निवासी २४ वर्षिय राजेशवर सरदार र बदगामा ३ निवासी २४ वर्षिय राजनारायण यादवले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । 
तीनै जनाले म्यादी प्रहरी भर्नाका लागि आएकी २५ वर्षीय ती महिलालाई गत बुधबार राती राजविराज नगरपालिका १ स्थित नेपाल टेलिकमको कार्यालयमा बलात्कार गरेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
राति १० बजे टेलिकम कार्यालयबाट रुँदै निस्किएकी पीडितलाई म्यादी प्रहरी भर्नाको परिणाम टाँस्न जिल्ला प्रशासन कार्यालय पुगेको सई श्याम सुवेदीको प्रहरी टोली र स्थानीयवासीले सोधपुछ गर्दा पीडितले आफू बलात्कृत भएको बताएकी थिइन् । 
म्यादी प्रहरीमा भर्ना हुन आएकी ती महिलालाई होटल वा लजमा बस्न नदिई टेलिकमको कार्यालयमा ल्याई बलात्कार गरिएको पीडितद्वारा बिहीबार प्रहरीमा दिइएको उजुरी उल्लिखित छ । 
पीडित महिलाले उजुरी दिएपछि बलात्कारको आरोपमा प्रहरीले बिहीबार राजेश्वर, राजनारायण र बालेश्वरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट