News Category 2073/12/12

डा. राउतलाई थप १० दिन थुनामा राख्न आदेश

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, ११ चैत । 
राज्यविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले शुक्रबार पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।
गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट डा. राउत पक्राउ पर्नुभएको थियो । 
राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रो पटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । 
पाचौँपटक शुक्रबार चैत ११ गते अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । अन्तिमपटकका लागि शुक्रबार अदालतले थपेको १० दिनको म्यादभित्रै अनुसन्धान सम्पन्न गरेर सुनुवाइका लागि मुद्दा अदालतमा पेस गर्ने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । 
पक्राउ परेका राउतमाथि राज्यविरुद्धको सङ्गठित अपराधअन्तर्गत प्रहरीले मुद्दा चलाएको हो । 
सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई गत माघ २० गते जनकपुरस्थित माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।
राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर उहाँ उक्त मुद्दामा धरौटीमा रिहा हुनुभएको थियो ।
यसैबीच, डा राउतलाई म्याद थपका लागि अदालत लगिने क्रममा सदरमुकाम सिरहा बजारमा ढुङ्गामुढा गर्न खोज्ने राउत समर्थित एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट