News Category 2073/12/15

सरकार र मोर्चाबीच हुन लागेको सहमति हल्ला मात्र ः अध्यक्ष ठाकुर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार र मधेशी मोर्चाबीच हुन लागेको सहमति हल्ला मात्र भएको बताउनु भएको छ । 
तमलोपा सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले सरकारसँग सहमतिको वातावरण नबनेको जिकिर गर्नुभयो । 
उहाँले सरकार र मधेशवादी दलहरुसँग विगतमा भएको सहमतिहरु कार्यान्वयन नहुनुले सरकारसँग सहमतिको वातावरण नबनेको उल्लेख गर्नुभयो । 
विगतमा पूर्व झापादेखी पश्चिम कंचनपुरसम्मको जिल्लालाई दुई मधेश प्रदेश बनाउने प्रतिवेदन सरकारले तयार गरे पनि विगतको कुरालाई वर्तमानमा लागु गर्न सरकार नचाहेको आरोप समेत लगाउनुभयो ।
अहिलेको स्थानिय तहको संरचना समेत विवादित रहेको भन्दै सरकारले गराउन खोजेको स्थानिय तहको निर्वाचनले कतिको बैधानिक हुने भन्ने उहाँले प्रश्न गर्नुभयो । 
अध्यक्ष ठाकुरले मधेशी जनतालाई दमन गर्न खोज्ने राज्यको नीतिलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै जबसम्म मधेशको मुद्दालाई राज्यले समाधान गर्दैन् तबसम्म मुलुकमा कुनै निर्वाचन गर्न सम्भव नरहेको उल्लेख गर्नुभयो ।
संचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै अध्यक्ष ठाकुरले मधेशी दलहरुबीच एकताको प्रयास भइरहेको तर, निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । 
सरकारसँग पटक पटक भएको वार्ताका क्रममा राज्यले मधेशीको अधिकार दिनबाट बञ्चित गर्दैगइरहयो भने र मधेशीमाथी दमन बन्द भएन भने एक दिन नेपालबाट मधेश गुम्न सक्ने खतरा बारे सरकारलाई अवगत समेत गराइरहेको जिकिर गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट