News Category 2073/12/17

दुई नम्बर प्रदेशमा मतदान केन्द्र नतोकिएकोले मतदाता परिचय पत्र छपाउन नमिल्ने ः निर्वाचन आयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १६ चैत । 
निर्वाचन आयोगले दुई नम्बर प्रदेशका जिल्लाहरुमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसकेको जनाएको छ । 
तराई मधेस आन्दोलनबाट प्रभावित दुई नम्बर प्रदेशका ८ जिल्लामा मतदान केन्द्र तोक्न नसकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
आगामी निर्वाचनका लागि मतदान केन्द्र नतोक्दासम्म मतदाता परिचय पत्रलाई अन्तिम टुंगो लगाउन नमिल्ने र मतदाता नामावलीको टुंगो नलाग्दासम्म मतदाता परिचय पत्र छपाउन नमिल्ने आयोग पदाधिकारीहरु बताउँछन् ।
आयोगले चैत २० गतेसम्म मतदान केन्द्र टुंग्याएर मतदाता नामावली समेत टुंग्याउने लक्ष्य लिएको छ । आगामी चैत २० गतेसम्म पनि मतदान केन्द्र टुंग्याउन नसके आयोगले थप निर्णय लिने प्रवक्ता शर्माले बताउनुभयो । 
अहिले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई राजनीतिक सहमतिको बातावरण बनाउन भनिरहेको आयोगले बताएको छ । 
यस्तै दुई नम्बर प्रदेशमा निर्वाचन आयोगले समेत काम गर्न नसकेको आयोगले बताएको छ । केही जिल्लामा आयोगको कार्यालय खोलेपनि काम गर्न नसकेको र केही जिल्लामा कार्यालय सञ्चालन नै गर्न नसकेको जनाइएको छ ।
यता संविधान संशोधन नगरेसम्म स्थानीय तहको चुनाव हुन नदिने मधेसी मोर्चाले चेतावनी दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट