News Category 2074/01/11

संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने ः मोर्चा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन भएमात्र निर्वाचनमा भाग लिने बताएको छ । राष्ट्रिय जनता पार्टीका प्रवक्ता केशव झाले मोर्चा र सरकारबीच शनिबार राती भएको सहमतिमा संविधान संशोधन भएमात्र मोर्चाले निर्वाचनमा भाग लिने स्पष्ट पारेको जानकारी दिनुभएको छ । 
राजविराज दैनिकलाई प्रवक्ता झाले दिनुभएको प्रतिक्रियामा संविधान संशोधनमा धारा २७४ लाई संशोधन गर्नेदेखी लिएर स्थानिय तहको संख्या बढाउने सम्मको सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धारा २७४ लाई संशोधन नगरिकन कुनै पनि प्रदेशको सीमाकंनलाई हेरफेर गर्न नमिल्ने प्रावधान रहेकोले सो धारालाई संशोधन गर्नु पर्ने आवश्यकता छ ।”
प्रवक्ता झाले स्थानिय तहको निर्वाचन दुई चरणमा हुने सहमति भएपनि संविधान संशोधन नभएसम्म मोर्चा निर्वाचनमा भाग नलिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सिमांकनका विषयमा संविधान संशोधन भएपछि मात्र सिमांकन आयोग गठन गरेर संसदीय र प्रादेशिक निर्वाचन हुनु अगावै आयोगले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।” 
यस्तै सहमति अनुसार प्रदेश नम्बर एक, दुई, पाँच र सातमा जेठ ३१ गते निर्वाचन हुनेछ भने प्रदेश नम्बर तीन, चार र ६ मा बैशाख ३१ गते नै निर्वाचन हुनेछ । सरकारले फाष्ट्रयाकबाट संविधान संशोधन गर्ने भएको छ । 
यता जेठ ३१ गतेको निर्वाचनअघि सरकारले मधेशमा जनसंख्याको आधारमा स्थानीय निकायको संख्या बढाउने सहमति भएको मोर्चाका नेताहरुको दाबी रहेको छ । तर, भौतिक योजना मन्त्री रमेश लेखकले निर्वाचनअघि नै स्थनीय निकायको संख्या बढाउने तय नभएको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो । 
मधेश आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता एवं सहिद घोषणा गर्ने सहमति भएको छ । यो सहमति वर्तनमा सरकार गठन गर्ने समय मै भएको थियो । सरकार गठनको १० महिनाभन्दा बढी समय हुँदासमेत मुद्दा फिर्ता हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट