News Category 2074/01/12

दोश्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक, पहिलो चरणकोमा पनि केही हेरफेर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ भने पहिलो चरणको कार्यतालिका समेत हेरफेर गरेको छ । 
सरकारले आन्दोलनरत मधेसी मोर्चासँगको सहमतिपछि बैशाख ३१ र जेठ ३१ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । 
सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो, जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणको चुनाव भने बैशाख ३१ मै हुनेछ ।
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारले विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।
२० गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन पत्र जाँच हुनेछ । विहान १० बजेदेखि १ बजेसम्म उजुरी दिने समय तोकिएको छ । १ बजेदेखि भोलिपल्ट साढे ११ बजेसम्म मनोनयन पत्र जाँच गर्ने समय तोकिएको छ ।
२१ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ताका लागि दिउँसो १ बजेदेखि ५ बजेसम्म तोकिएको छ । २२ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ र त्यही दिन निर्वाचन चिह्न पनि प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । जेठ ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म दोस्रो चरणको मतदान हुनेछ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन हुने प्रदेशहरुमा निर्वाचन आचार संहिता स्थगित गरेको छ । साथै मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ । नयाँ आचार संहिता केही दिनमा लागू हुनेछ ।
जिल्ला जिल्लामा पुगेको मतपत्र, मतदाता परिचय पत्र लगायतका सामाग्रीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताउनुभयो ।
यस्तै निर्वाचन आयोगले सरकारको आग्रहमा पहिलो चरणको निर्वाचन कार्यतालिका पनि हेरफेर गरेको छ । उम्मेदवारी दर्तादेखि चुनाव चिन्ह प्रदानसम्मको सबै कार्यक्रम ३ दिन पछि सारिएको छ । 
अब बैशाख १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । यसअघि १८ गते थियो । उजुरी दर्ताको समय २० गते तोकिएको छ भने उम्मोदवारको सूची २१ गते प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ताको समय पनि त्यही दिन तोकिएको छ ।
२२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ र त्यही दिन उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । बैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजे मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट