News Category 2074/02/03

हावाहुरीले करोडौंको क्षति, भुकम्प पीडितलाई दिने राहत सरह नै हावाहुरीबाट पीडितलाई राहत उपलब्ध गराउन स्थानियको माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सोमबार साँझ आएको हावाहुरीसँगै परेको पानी र खसेको असिनाले सप्तरीको विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ । 
हावाहुरीले गर्दा जिल्लाको विभिन्न गाबिसमा सयौं घर भत्किदा करोडौं मुल्य बराबरको क्षति समेत भएको छ ।
हावाहुरीबाट जिल्लाको शम्भुनाथ नगरपालिका १, २, ३, ४, ५, ७ र ९ मा ठूलो क्षति पुगेको जनाइएको छ । शम्भुनाथ वडा नं. ३ का स्थानीय लगन चौधरी, दानालाल चौधरी, मनोज चौधरी, देबकान्त चौधरी, हरीकान्त चौधरी, देवदत्त खंग, दुखी साह, ललित चौधरी र नन्दीलाल चौधरीसहित दर्जनौं ब्यक्तिहरुको सयौं घरमा क्षति पुगेको छ । 
हावाहुरीले उनीहरु मध्ये अधिकांशको घरको छाना उडाउनुका साथै फुसको घर ढलेको छ भने गाईगोठ समेत पूर्ण रुपमा भत्किएको छ । 
त्यस्तै हावाहुरीले आँप, कटहर, लिची, केराको बोट जडैबाट उख्लिएको छ । त्यसैगरि किसानहरुले धान र गहुँ राख्ने भखारी समेत हावाहरीले भत्काउँदा र त्यसको ढक्कन उडाउँदा अन्नहरु पानीले भिज्दा कामै नलाग्ने भएको छ । 
यस्तै ती क्षेत्रमा दर्जनौ विद्युतका पोलहरु तथा राजमार्गमा समेत रुखहरु ढलेको स्थानीयवासी एवं संघीय समाजवादी फोरम नेपालका नेता कन्तलाल चौधरीले जानकारी दिनुभयो । त्यस्तै शम्भुनाथ मेलामा लगाइएको पिंङ्ग ढल्नुका साथै मेलामा लगाइएको अस्थायी पसलको छाना समेत हावाहुरीले उडाएको उहाँले जानकारी दिनुभयो । 
त्यसैगरि शम्भुनाथ नगरपालिका ३ स्थित रहेको रामदयाल उमाविको एउटा ब्लकमाथी हवाहुरीका कारण रुख ढल्दा क्षति पुगेको छ । 
यता हावाहुरीका कारणले करोडौंको क्षति भएको भन्दै शम्भुनाथ नगरपालिका वडा नं. ३ का स्थानियहरुले भुकम्प पीडितलाई सरकारले ५० हजार राहत दिने गरेकोले सोही अनुसार प्राकृतिक प्रकोप हावाहुरीबाट पीडित भएकाहरुलाई पनि सो सरह नै राहत उपलब्ध हुनुपर्ने माग गरेका छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले मंगलबार शम्भुनाथ नगरपालिका क्षेत्रमा हावाहुरीका कारण भएको क्षतिको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । स्थलगत निरीक्षणपछि प्रजिअ कटुवालले सो क्षेत्रमा हावाहुरीका कारण निकै क्षति भएको भन्दै पीडित परिवारकलाई क्षतिको आधारमा ४ देखी ५ हजारसम्मको तत्कालै राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।
यस्तै जिल्लाको छिन्नमस्ता गाविसस्थित बरही बिरपुरको महाबिर नहर चौकमा रहेका विभिन्न पसलको छाना समेत हावाहुरीले उडाएको छ । त्यस्तै हावाहुरीका कारणले दर्जनौं स्थानीयबासीहरुको घर, टहरा समेत भत्किएको पीडितहरुले बताएका छन । 
यस्तै हावाहुरीले साबिकको दिघवा गाबिस र हालको राजविराज नगरपालिका १० का राजेन्द्र यादव, महेन्द्र यादवको दुई घर र छाना उडाएको छ भने जय नारायण यादव, सत्रुधन यादव सहितको दर्जनौ घरमा क्षति भएको पीडितहरुले बताएका छन । 
उनीहरुको घरको छानासँगै भखारीमा रहेको धान र गहुँ समेत भिजेको बताएका छन् । यस्तै खाडो पुलचोकस्थित दर्जनौं पसल र घरहरुको छाना समेत हावाहुरीले उडाएको छ । 
यसैबीच सोमबार साँझमा आएको प्राकृतिक प्रकोप हावाहुरीसँगै परेको पानी र झरेको असिनाले जिल्लाभरी नै ब्यापक धनजनको क्षति भएको प्रति संघीय समाजवादी फोरम नेपाल सप्तरीले दुःख व्यक्त गरेको छ ।  
फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले मंगलबार एक विज्ञप्ति जारि गर्दै प्राकृतिक प्रकोपबाट भएको क्षतिका कारण जिल्लाका जनताहरु मर्माहत भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “यस्तो दुःख पीडामा रहेकाहरुलाइ अविलम्व राहत उपलव्ध गराउनुका साथै विद्युतीय अवरोध हटाउन सम्वन्धीत पक्षसँग संघीय समाजवादी फोरम नेपाल सप्तरीले जोडदार माग गर्दछ ।”  

प्रतिकृया दिनुहोस

ताजा अपडेट