News Category 2074/02/03

हावाहुरीले पाँच दर्जन विद्युतका पोल ढले, राजविराजका केही स्थान र अन्य स्थानमा पाँच दिनसम्म विद्युत अवरुद्ध हुनसक्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सोमबार साँझ आएको हावाहुरीसँगै सप्तरीमा करिब पाँच दर्जन विद्युतका पोलहरु ढलेका कारण दर्जनौं गाबिस अन्धकार भएको छ । 
सोमबार साँझ आएको हावाहुरीका कारण सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको दर्जनौं गाबिसका हजारौं स्थानीयबासीहरु दुई दिनदेखि अन्धकारमा रात बिताउँदै आएका छन् ।
हावाहुरीका कारणले जिल्लाका सदरमुकामसहित कल्याणपुर, भारदह, रुपनी, हनुमाननगर, पातोसहित अधिकांश क्षेत्रका दर्जनौं गाबिसका करिब ५०÷६० वटा सम्म विद्युतका पोलहरु ढलेका छन् । 
मंगलबार साँझसम्म पनि त्यस भेगमा विद्युत सेवा सूचारु हुन सकेको छैन् । त्यस क्षेत्रका स्थानियहरु अति आवश्यक संचारमाध्यम मध्ये एक मोबाईल समेत चार्ज गर्न पाएका छैनन् जसकारण उनीहरु संचारविहीन भएका छन् । 
यस्तै ईटहरी बिष्णुपुर गाबिसस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरी अगाडी रहेका २५ केभिको विद्युत ट्रान्सफर्मरसहित चार वटा विद्युतका पोल समेत ढल्दा सो भेगमा विद्युत अवरुद्ध हुन पुगेको छ । 
यसैबिच नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख रामउदगार साहसँग सो सम्बन्धमा जिज्ञासा राख्दा उहाँले मंगलबार राजविराज नगर क्षेत्रका बडा न. २, ९ र १० बाहेक अन्य वडामा विद्युत सूचारु भईसकेको जानकारी दिनुभयो । उहाँले त्यस बाहेक भारदह, कंचनपुर, हनुमाननगर, रुपनी, कल्याणपुरदेखि पातो सम्मको रुटमा चार पाँच दिनपछि मात्र विद्युत संचालन हुन सक्ने जानकारी दिनुभयो । 
हावाहुरीका कारण करिब पाँच दर्जन भन्दा बढी विद्युतका पोलहरु ढलेकाले सो मर्मत सम्भार नभएसम्म नियमित रुपमा विद्युत संचालन हुन नसक्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट