News Category 2074/02/04

मलेठमा मारिएका पाँचै जना सहिद घोषणा, गृहमन्त्री निधिबाट सहिद परिवारलाई राहत प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ जेठ । 
नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीको मलेठ गाविसमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार सहिद घोषणा गरेको छ । 
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई मन्त्रिपरिषद्को निर्णयअनुसार सहिद घोषणा गरिएको जानकारी दिनुभयो । 
प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरु सबैलाई गृहमन्त्री निधिले बुधबार सहिद घोषणा गर्दै प्रति परिवार १० लाख रुपैयाँ राहतस्वरुपको रकम समेत हस्तान्तरण गर्नुभयो । 
सोही कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री निधिले संविधान हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली जनताको हो भन्दै संविधानलाई संशोधन गरेर त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले संविधान संशोधनपछि असन्तुष्ट रहेका दलहरु पनि आफ्नो असन्तुष्टि त्यागेर स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्नुभयो । 
यसैबीच मन्त्री निधिले मलेठ घटनाको छानबिनका लागि पुनरावेदन अदालतका सेवानिवृत मुख्य न्यायाधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन भएको र उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिनुभयो । 
एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम भइरहँदा गत फागुन २३ गते सो क्षेत्र वरिपरि प्रहरी र मधेशी मोर्चासँग भएको झडपका क्रममा प्रहरीको गोली लागि पाँचजनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट