News Category 2074/02/20

मतदाता भन्छन् ः ‘मतपत्र जटिल छ, मतदात शिक्षा प्रभावकारी भएन्’

दैनिक समाचारदाता

नवीन कुमार गुप्ता
राजविराज, १९ जेठ ।
स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय सप्तरीले जिल्लामा मतदाता शिक्षा सुरु गरेको छ । तर, मतदाताले भने प्रभावकारी नहुँदा मतदानमै समस्या हुने गुनासो गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले स्थानिय तहको निर्वाचनका लागि मतदाताहरुलाई मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने, छाप लगाइसकेपछि कसरी पट्याउने, कसरी छाप लगाएमा मत बदर नहुने, कसरी लगाएमा मत सदर हुने लगायतका शिक्षा दिने गरिएको जानकारी दिनुभयो ।  
उहाँले ४ सय ६१ मतदान केन्द्रका लागि २ सय ९२ मतदाता स्थलमा ४ सय ६१ कर्मचारीहरु सामाजिक परिचालक तथा बालविकास सहजकर्ताहरु मार्फत मतदाता शिक्षा दिदै आएको बताउनुुभयो । 
यता शुक्रबार निर्वाचन कार्यालयको टोलीसँग मतदाता शिक्षा दिदै गरिएको केही स्थानमा निरीक्षण गर्न पुगेका राजविराज दैनिक टिमले राजविराजका केही वडामा मतदाता शिक्षा सम्बन्धी पोस्टर टाँसिएको तथा मतदाताहरुलाई शिक्षा दिइदै गरेको दृश्यहरु देखे । तर, अधिकांश वडामा मतदाता शिक्षा सम्बन्धी कामकाज अति सुस्त देखिएको थियो । 
मतदाता शिक्षा कार्यक्रम अनुसार मतदाताहरुलाई कुनै एक ठाउँमा जम्मा गरि र घरदैले समेत गरि आवश्यक जानकारी दिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । तर, राजविराजमै त्यस्तो नदेखिएको अवस्थामा गाउँपालिकाहरुको स्थिति स्वतह छरपष्ट हुन्छ । 
मतदाताहरुले अहिलेसम्म मतपत्रको नमूना हेर्न नपाएको गुनासो समेत पोखेका छन् । राजविराज वडा नं. ८ साविकको वडा नं. ५ की मतदाता शारदा मुडभरीले यस पटकको मतपत्र अत्यन्त जटिल रहेको भन्दै यसको शिक्षा दिनु अति आवश्यक रहेको बताउनुभयो । उहाँले मतपत्र पट्याएर बाकसमा खसाल्न समेत गाह्रो हुने भएकोले यस सम्बन्धी अझ शिक्षा दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो । 
यस्तै राजविराज वडा नं. ३ साविकको ४ की सामाजिक परिचालक तारा कटवालले भनिन्, “मतदाताहरुलाई मतपत्रमा स्वस्तिक छाँप लगाउनेदेखी लिएर मतपत्र पट्याउनेसम्मका साथै मत बदर र सदर सम्बन्धी शिक्षा समेत दिँदै छौं, तर, मतपत्रको आकार ठूलो भएकै कारण मतदातालाई बुझ्न जटिल छ ।” मतदाता शिक्षामा खटिएका केही सामाजिक परिचालक तथा बालविकास सहजकर्ताहरुले आफूहरुलाई घर घरमा गएर शिक्षा दिन समय नपुग्ने भन्दै सामूहिक रुपमा चौक चौकमा शिक्षा दिदै आएको बताए । 
यस्तै निर्वाचन अधिकारी ठाकुरले मतदाता शिक्षालाई प्रभावकारी आफू लागिपरेको दाबी गर्नुभयो । “सामाजिक परिचालक तथा बालविकास सहजकर्ताहरुले विगत दुई साता बढीदेखी मतदाता शिक्षा सम्बन्धी कार्यमा लागेका छन्” उहाँले भननुभयो, “केही स्थानमा त भरपर्दो नभएको हामीले पनि अनुगमनका क्रममा पाएका छौं, तर, समग्रमा भन्दा पछिल्लो राजनीतिक अवस्थाले गर्दा मतदाता शिक्षा कार्यक्रम संचालन गर्न सजिलो हुने भएकोले थप व्यवस्थित र प्रभावकारी हुनेमा हामी विस्वस्त छौं ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट