News Category 2074/02/24

सप्तरीमा एमाले उम्मेदवारको घोषणा गर्ने पहिलो पार्टी बन्यो, दुई पत्रकारसहित राजपाका नेताहरु एमालेमा प्रवेश

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, २३ जेठ । 
असार १४ गते हुने स्थानिय तहको दोश्रो चरणको निर्वाचनका लागि एमाले सप्तरीले सदरमुकाम राजविराजको मेयर उपमेयरको उम्मेदवारको नाम मंगलबार घोषणा गरेको छ । यो सँगै एमालेले स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा उम्मेदवारको घोषणा गर्ने पहिलो पार्टी बनेको छ ।
एमाले पार्टी कार्यालय राजविराज ८ स्थित मदननगरमा आयोजित पार्टी प्रवेश एवं उम्मेदवार घोषणा कार्यक्रममा एमालेका पोलिट्ब्युरो सदस्य रामप्रित पासवानले विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउनुभयो । सो कार्यक्रममा जिल्लाका दुई पत्रकार पनि एमालेमा प्रवेश गरेका छन् । 
सोही कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल २ नं. प्रदेश सदस्य एवं राजविराज ७ निवासी सुखराम यादवलाई पार्टी प्रवेश गराउनुका साथै राजविराज नगरको मेयर पदको उम्मेदवार समेत घोषणा गरिएको छ भने उपमेयरमा राजविराज १ निवासी ममता चौधरीलाई उम्मेदवार बनाइएको छ । 
मेयरका उम्मेदवार सुखराम यादव राजविराजस्थित ग्लोबल सहकारी संस्थाका संस्थापक हुन् भने उपमेयरका उम्मेदबार ममता चौधरी विद्यार्थी कालदेखी नै एमालेकी सक्रिय सदस्य रहेकी छिन् । यादव सेवानिवृत बैंक कर्मचारीका साथै नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत हुन् । यस्तै पत्रकार महासंघका अर्का सदस्य हेमशंकर सिंह, राजपाका केन्द्रिय सदस्य सुरेशकुमार सिंह, लाल मोहम्मदलगायत दर्जनौं एमालेमा प्रवेश गरेका छन् । 
यसैगरि पोलिट्ब्युरो सदस्य पासवानले राजविराज ७ स्थित नेकपा एमाले नगर प्रचार प्रसार समितिको कार्यालयको पनि मंगलबारै उद्घाटन गर्नुभयो । सो अवसरमा एमाले केन्द्रिय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, दिवाकर देवकोटा लगायतको उपस्थिति रहेको थियो ।  
गत फागुन २३ गते नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीमा भएको घटना पश्चात् त्यसको ठीक तीन महिना पछि मंगलबार नेकपा एमाले सप्तरीले खुल्ला रुपमा आफ्नो चुनावी कार्यक्रम गर्न पाएको हो । सो घटनामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो भने सरकारले पाँचै जनालाई सहिद समेत घोषणा गरिसकेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट