News Category 2074/03/01

फोटो नखिच्न सेनाद्वारा उर्दी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
असार १४ गते हुने भनिएको स्थानिय तहको निर्वाचनको क्रममा सप्तरीमा अहिले सेना सडकमा देखिन थालेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधबार राजविराजमा सुरु गर्न लागेको सहायक मतदान अधिकृतको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको थियो । 
यता फोटो खिच्न थालेपछि स्थानीय सञ्चारकर्मीहरुलाई फोटो नखिच्न सेनाले रोक लगाएको छ । 
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिँदै राजपाका नेताहरुले धर्नाका बसाएपछि दर्जनौंको संख्यामा  सेना सो स्थानमा देखिएको थियो । फोटो खिच्दै गरेका पत्रकारहरुलाई ड्युटीमा आएका सेनाले फोटो नखिच्न भनेको थियो । 
सञ्चारकर्मीहरुले सार्वजनिकस्थलमा सुरक्षाकर्मीको फोटो लिन पाउनु आफूहरुको पेसागत कार्य भएकोले फोटो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रताविपरीत रहेको संचारकर्मीहरुले प्रतिवाद समेत गरेका थिए । 
यसअघि पनि निर्वाचन सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमका क्रममा राजपाले प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवलाई कालो झण्डा देखाउने समयमा पनि सेना सो स्थानमा देखिएको थियो । त्यस समयमा पनि सेनाले फोटो नखिच्ने भनेको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीले सञ्चारकर्मीहरुलाई पटक पटक फोटो खिच्न रोक लगाउने नेपाली सेनाको कार्यप्रति आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले सार्वजनिकस्थलमा सूचना संकलनका क्रममा फोटो खिच्न पाउनु पत्रकारको पेसागत अधिकार भएको र त्यसमा रोक लगाउने कार्य प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट