News Category 2070/03/01

पिताले रु. १० हजार दिएर छोरीलाई मार्न लगाएको खुलासा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
जेठ ८ गते सप्तरीको बथनाहा गाविस वडा नंं ८ का चन्द्र राउतले रु. १० हजार नगद दिएर आफ्नै छोरीको हत्या गराएको खुलासा भएको छ ।
छोरीले प्रेम गरेकै कारण पिता राउते आफ्नो बदनामी भएको भन्दै छोरीको हत्या गर्न सप्तरीको को. बर्साइन गाविस निवासी मोहन साहलाई सो रकम दिएको प्रहरी समक्ष बयान दिएका छन् ।
राउतकी १६ वर्षिया छोरी रुबी कुमारी राउत बथनाहा ८ कै १७ वर्षिय अरुण कुमार साहसँग लामो समयदेखी प्रेम गर्दै आएकी थिइन् । दुबै जनाको प्रेमलाई परिवारजनले अस्विकार गरेपछि उनीहरु २०६९ साल चैत्र ३ गते भारतको दिल्ली भागेका थिए । गाउँलेहरुले दुबैका परिवारबीच छलफल गराएर केटापक्षले केटीपक्षलाई रु. ५० हजार नगद तिर्ने तथा पुनः केटी केटासँग कुराकानी गरेमा केटी पक्षले केटा पक्षलाई रु. १ लाख दिने निणर्य गाउँ समाजमा गरिएको थियो ।
उक्त निर्णय पश्चात् भागेका दुबैजनालाई गाउँलेहरुले २०७० जेठ ७ गते ल्याएर आ–आफ्नो परिवारजनको जिम्मा लगाएका थिए । छोरी जिम्मा पाए लगत्तै राउतले रम्पुरा गाविस घर भएका एक जना आफन्तको घरमा राखेका थिए ।
सोही दिन पिता चन्द्र राउतले कोइलाडी गाविसका मोहन साहलाई भेटेर रु. १० हजार नगद तथा छोरी दिएर घर पु¥याउने जिम्मा दिएका थिए । गोप्य रुपमा हत्या योजना बनाएको चन्द्रको इसारामा मोहनले रुबीको हत्या गरेका थिए । रुबीको शव जेठ ८ गते बिहान ८ः३० बजे कोइलाडी गाविस ८ स्थित बच्चा साहको खाली खेतमा जलेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी प्रमुख संजयसिंह बस्नेतले जेठ १६ गते शवको पहिचान भएपछि लामो अनुसन्धान पश्चात् मृतकको पहिचान र सम्पूर्ण रहस्य खुलेको जानकारी दिनुभयो । मृतकका पिताले रकम दिएर छोरीको हत्या गर्न लगाएको बयान प्रहरी समक्ष दिएका छन् ।
छोरीको हत्या गराएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले मृतकका पीता चन्द्र तथा हत्यामा संलग्न मोहन साहलाई नियन्त्रणमा लिएको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट