News Category 2074/04/17

खाँडो र त्रियुगा नदीका कारण डुवानमा पर्ने समस्याप्रति कुटनीतिज्ञ पहल आवश्यक, नेपाल भारत खाँडो त्रियुगा समस्या समाधान नागरिक पहल समिति गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 
दशकौंदेखी सप्तरीको तिलाठी, सकरपुरा, लौनियाँ लगायतका स्थानमा खाँडो र त्रियुगा नदीको पानीले दुःख दिदै आएकोप्रति सरोकारवाला निकायले त्यसप्रति चासो व्यक्त गरेका छन् ।  राजविराजमा सोमबार आयोजित समुदायको सहभागिता मार्फत जलश्रोत कुटनीति निर्माणका लागि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रो. पब्लिक काठमाडौंका वरिष्ठ अधिवक्ता एवं कार्यकारी अध्यक्ष प्रकाशमणि शर्माले जलश्रोत सम्बन्धी दुई देशबीचको झगडाले कसैलाई फायदा नपुग्ने जिकिर गर्दै त्यसको समाधान तर्फ कुटनीतिज्ञ पहल आवश्यक रहेको बताउनुभयो । 
उहाँले दुई देशका जनताहरुले झण्डा नगरेर आपसी समन्वय गरेर त्यसको निकास तर्फ उन्मूख भए मात्र आपसी भाईचार अझ सुदृढ हुने उल्लेख गर्नुभयो । वर्षौदेखी नेपाली भूभाग डुवानमा पर्दा नेपाल र भारत दुबै पक्षले हालसम्म कुनै ठोस कदम चाल्न नसक्नु दुबै मुलुकको कुटनीतिज्ञ पहल कमजोर रहेको भन्दै यसलाई अब स्थानिय स्तरबाट पनि समाधान गर्न तर्फ पहल आवश्यक रहेको बताउनुभयो । 
सोही कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले तिलाठीमा पानी पस्नु कुनै नौलो कुरा नभएको भन्दै सरकारी उदासिनताका कारण जनताहरुले दुःख भोग्नु परेको दाबी गर्नुभयो । उहाँले यस विषयमा पटक पटक दुई देशका जनताहरुबीच पानीको विषयमा झगडा हुनु अस्वभाविक मात्र भएको भन्दै यस समस्याप्रति राज्य गम्भिर हुनु पर्नेमा जोड दिनुभयो । 
यस्तै स्थानिय तिलाठी निवासी निरज झाले खाँडो नदीको पानीको निकासका लागि स्थानियहरुले जग्गा दिन तयार रहेको भन्दै तर त्यसका लागि सरकारी स्तरबाट क्षतिपूर्तीको व्यवस्था हुनु पर्ने माँग समेत गर्नुभयो । 
त्यस्तै स्थानिय देवनारायण यादवले हरेक वर्ष बाँध निर्माणका लागि सरकारले केही रकम बिनियोजन गरेर पन्छिने काम मात्र गरेको आरोप लगाउँदै त्यसको स्थायी समाधानका लागि सरकारले आवश्यक कदम चाल्नु पर्ने माँग गर्नुभयो । तिलाठी गाविसका निवर्तमान अध्यक्ष दिनेश्वर मिश्रले स्थानिय निकायको कमजोरीले पनी तिलाठीवासीले बाढीका कारण दुःख भोग्नु परेको आरोप लगाउनुभयो । 
सो कार्यक्रममा क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले खाँडो नदीको निकास बारे स्थानिय स्तरमा यूवा, बालबालिका, बृद्धबुद्धा, महिला लगायत पाँच समूह छलफल गरि ग्राम मञ्च समेत गठन गरिएको जानकारी दिनुभयो । उहाँले आइतबार सीमा क्षेत्र कुनौली बजारका स्थानियहरुसँग समेत सो सम्बन्धी छलफल गरि निकासको उपाय बारे छलफल गरिएको जानकारी दिनुभयो । 
क्रेस नेपाल राजविराजको आयोजना तथा प्रो. पब्लिक काठमाडौं र भारतीय वातावरण कानुन संस्था नयाँ दिल्ली भारतको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानिय विकास अधिकारी सुदेव पोखरेल, महिला तथा बालबालिका कार्यलयका अनिता चौधरी, अधिकारकर्मी आभासेतु सिंह, स्थानियहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 
यसैबीच नेपाल भारत खाँडो त्रियुगा समस्या समाधान नागरिक पहल समितिको गठन गरिएको छ । नेपाली पक्षबाट तिलाठीका निवर्तमान अध्यक्ष दिनेश्वर मिश्रको संयोजकत्वमा निरज झा, देवनारायण यादव, अमिर झा, कृपानन्द झा, शिवनाथ यादव, राजेश झा, उपेन्द्र साह लगायतका १६ सदस्यी सदस्य रहेका छन् भने भारतीय पक्षबाट रामप्रवेश यादवको सांयेजकत्वमा रबिन्द्र कामैत, धिरेन्द्र मेहता, प्रकाश चन्द्र मेहता लागयत १५ सदस्यीय समिति गठन गरिएको निरज झाले सोही कार्यक्रममा जानकारी दिनुभयो । 
उहाँले दुई देशका नवगठित समितिले अबको दिनमा खाँडो र त्रियुगा नदीका कारण आउने बाढीको निकास बारे सर्वपक्षिय छलफल गरि ठोस कदम चाल्ने र दुबै मुलुकलाई स्थायी समाधानको उपाय बारे अवगत गराउने कार्य गर्ने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट