News Category 2074/04/20

तिरपन्न हजार पीसीसहित वडा सचिवलाई अख्तियारले समात्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित पूर्वाञ्चल कार्यालयका टोलीले बिहीबार राजविराजमा घुसको रकमसहित एक वडा सचिवलाई पक्राउ गरेको छ । 
सप्तरीको विष्णुपुर गाउँपालिकाका वडा सचिव संजयकुमार देवलाई नगद रु. ५३ हजारसहित राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । 
अख्तियारका प्रहरी नायब उपरिक्षक रमेश बस्नेतले पक्राउ परेका सचिवमाथि उपझोक्ता समितिले बाटोमा माटो हाल्ने काम सम्पन्न गरे वापतको रकममा २० प्रतिशत कमिशन माँग गरेको दाबी गरे ।
सप्तरीको महदेवा गाउँपालिका वडा नं. ७ घर भएका वडा सचिव देवले विष्णुपुर गाउँपालिका वडा नं. १, ४ र ५ गरि तीन वटा वडाको जिम्मेवारी पाएका छन् । 
गत आर्थिक वर्षमा सप्तरीको विभिन्न स्थानीय तहहरुमा गरिएको विकासीय काम ब्यापक विकासीय बजेट दुरुपयोग भएको आवाज उठनथालेपछि अख्तियारले पनि चासो लिएको हो । 
अधिकांश योजनाहरुमा उपभोक्ता र कर्मचारीसँगको मिलेमतोमा विकासीय बजेट दुरुपयोग गर्ने गरेको छ । तर, यो मुद्दामा उपभोक्ता समितिका पदाधिकारीहरुले आफूहरुले राम्रो काम गरेकाले कमिसन नदिने भन्दै अडान राख्दै आएको र नमानेपछि अख्यितारलाई बोलाएर वडा सचिव देवलाई पक्राउ गराएको हो ।
पक्राउ गरिएको वडा सचिव देवलाई अख्तियारले हाल इटहरीस्थित क्षेत्रिय कार्यालय लगेको छ । अख्तियारका डीएसपी रमेश बस्नेतले भ्रष्टाचारको मुद्दा भएकाले शुक्रवार काठमाण्डौस्थित विशेष अदालतमा उपस्थित गराउने जानकारी दिए ।
यसअघि अख्तियारको क्षेत्रिय कार्यालय इटहरीले गत असारमै जिल्ला समन्वय समिति सप्तरीबाट पनि विभिन्न विकासीय योजनाहरुको कागजात जफ्त गरी अनुसन्धानकालागि लगेको थियो । तर, त्यो विषयमा थप जानकारी अख्तियारले अहिलेसम्म बाहिर ल्याउन सकेको छैन ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा पनि गत आर्थिक वर्षमा औषधी खरीदमा भएको अनियमितता र म्याद बाँकी रहेका औषधी जनस्वास्थ्यका कर्मचारीहरुले जलाईदिएको घटनामा पनि अख्तियारले उक्त कार्यालयमा छापा मार्दै कागजात लगेको हो । तर, उक्त अनुसन्धान पनि अख्त्यिारको कार्यालयमै सिमित भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट