News Category 2074/04/32

बाढीबाट सप्तरीमा एक बालकसहित पाँचको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ साउन । 
गत बुधबारदेखी आइतबार पाँच दिनसम्म लगातार अविरल वर्षाका कारण सप्तरीमा पाँच जनाको मृत्यु भएको छ । 
सप्तरीमा बाढीबाट मृत्यु हुनेहरुमा राजविराज नगरपालिका १५ देउरी भरुवाका डोमी यादव, तिलाठी कोईलाडी गाउँपालिका वडा न. ६ कोईलाडीका ५ वर्षिय कमल सदा, शम्भुनाथ नगरपालिकाका सदा थरका ११ वर्षिय एक बालक, डाक्नेश्वरी नगरपालिका वडा ८ गम्हरीया प्रवाहा निवासी ६५ वर्षिय नथुनी राम र बेल्ही चपेना गाउँपालिका ४ का ३२ वर्षिय कमला मुखियाको मृत्यु भएको हो । माछा मार्ने क्रममा घर नजिककै गम्हरीया प्रवाहा निवासी नथुनी रामको घर नजिकैको खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै कमल सदाको बाढीको पानी लागेर उपचारको अभावमा मृत्यु भएको परिवारजनले बताएका छन् । 
मृतक सदाको अन्तिम संस्कार गर्ने ठाउँ नपाएपछि उनको काकाले कोशीको पानीमै बगाएको तस्बिर अहिले सामाजिक संजाल तथा अन्तराष्ट्रिय मिडियाहरुमा निकै चर्चा रहेको छ ।   यसैगरी बेल्ही चपेना गाउँपालिका वडा नम्वर ४ का ३२ वर्षिय कमला मुखियाको मुतनी नदीको बाढीले बगाएर मृत्यु भएको राष्ट्रिय जनता पार्टीले जनाएको छ । यस्तै आइतवारै साँझ खेतवाट फर्कदै गरेको अवस्थामा तरकैया खोलाले बगाएर वेपत्ता डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षिय नथुनी राम वेपत्ता भएका थिए । उनको शव सोमवार विहान मृत अवस्थामा फेला परेका छन् । बाढीले बगाएको स्थानदेखि करिब ३ किलोमिटर टाढा खोला किनारमै उनको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि गत बिहीबार कखाँडो खोलाले भत्काउँदै गरेको तटबन्ध रोकथाम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादव वेपत्ता भएका थिए । यादवको शव आईतबार राति कुनौली भन्सार नजिक मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट