News Category 2074/05/06

टेन्ट गाडेर भए पनि निर्वाचन हुन्छ ः प्रमुख निर्वाचन आयुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ भदौंै ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले २ नं. प्रदेशमा तोकिएकै मितिमा टेन्ट गाडेर भए पनि निर्वाचन हुने बताउनुभएको छ । 
सोमबार आफ्नो गृह जिल्ला सप्तरी आइपुग्नु भएका प्रमुख निर्वाचन आयुक्त यादवले २ नं. प्रदेशमा अब कुनै पनि हालतमा स्थानिय तहको निर्वाचन भएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । 
जिल्ला निर्वाचन कार्यालय सप्तरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख आयुक्त यादवले असोज २ गतेका लागि तय गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचन तोकिएकै समयमा हुने कुरामा कुनै शंका नगर्न मतदातालाई आग्रह समेत गर्नुभयो । 
उहाँले बाढीबाट भत्किएका बाटोघाटो, पुल, विद्यालय लगायतका संरचना अविलम्व मरम्मत र सम्भार गर्न सरकारलाई निर्देशन समेत दिई सकिएको जानकारी दिदै तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल सहभागी हुने कुरामा आफु पूर्ण विश्वस्त रहेको जिकिर गर्नुभयो ।  
संचारकर्मीको जिज्ञासामा आयुक्त यादवले राजपालाई चुनाव चिन्ह छाता भने पाउने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले ६ वटा राजनीतिक शक्तिहरु एक भएर बनेको राजपासँग ६ वटा चुनाव चिन्ह पहिले देखिनै रहेकाले त्यस मध्ये कुनै एउटा रोजेर राजपा चुनावमा जान सक्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले राजपाभन्दा पहिले नै एउटा दलले छाता चिन्हका लागी आयोगमा निवेदन पेश गरिसकेको जानकारी दिँदै अहिले आएर राजपाले पनि छाता चुनाव चिन्ह माग गरेको र सो चिन्हको विवाद, अदालतसम्म पुगिसकेकाले सो बारेमा आयोगले केही गर्न नमिल्ने जानकारी दिनुभयो ।  
स्थानीय तहमा हाल जनप्रतिनिधि नहुँदा मधेशमा वाढी पीडितको राहत तथा उद्धार कार्य प्रभावित बनेको र पीडितले बढी दुःख पाएको अनुभव सुनाउँदै उहाँले निर्वाचन पछि यस्तो समस्या कम हुँदै जाने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट