News Category 2074/05/21

आज उम्मेदवारी दर्ता हुँदै, निर्वाचनका लागि जिल्लामा ६ हजार बढी सुरक्षाकर्मी परिचालन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० भदौं । 
असोज २ गतेका लागि तोकिएको प्रदेश नं. २ को स्थानीय तह निर्वाचनका लागि आज हुने उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको छ ।
उम्मेदवारी दर्तार्का लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । त्यस्तै उम्मेदवारहरुले भदौं २४ गते निर्वाचन चिन्ह प्राप्त गर्ने जनाइएको छ । 
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्लाको १८ वटै स्थानिय तहमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरु खटिसकेका छन् । 
ती १८ वटै स्थानिय तहका लागि ४ सय ६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो । 
जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा १ सय ६५ वडाहरु रहेका छन् । सम्पूर्ण स्थानिय तहका लागि उम्मेदवार मनोनय दर्ता सम्बन्धीत स्थानमै हुने उहाँले बताउनुभयो । 
जिल्लामा मतदाता संख्या ३ लाख ३१ हजार ७९ रहेको छ । जसमा १ लाख ७० हजार ८ सय ८८ पुरुष र १ लाख ६० हजार ७ सय ७० महिला तथा २१जना तेश्रोलिंगी मतदाता रहेका छन् । 
जिल्लामा ४ सय ६२ मतदान केन्द्र र २ सय ९५ मतदान स्थल रहेको छ । जसमा सुरक्षाको दृष्टिकोणले २ सय २४ अतिसंवेदनशिल र २ सय ३८ संवेदनशिल मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 
यस्तै २ सय ९५ मतदान स्थल मध्ये २०७ अतिसंवेदनशिल र ८८ मतदान स्थल संवेदनशिल रहेको प्रहरी प्रमुख सिंहले बताउनुभयो । 
प्रहरी प्रमुख सिंहका अनुसार निर्वाचन अवधीभर जिल्लामा ४ हजार भन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको छ भने परिस्थित अनुसार आवश्यक परे थप प्रहरी छिमेकी जिल्लामा तयारी अवस्थामा रहेका छन् । 
यसैगरि जिल्लामा २ हजार भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रामाधार यादवले जानकारी दिनुभयो । 
प्रत्येक नगरपालिकाको मतदान केन्द्रहरुमा प्रहरी नायव उपरिक्षक (डिएसपी) को नेतृत्वमा ७÷७ जना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरिक्षकको नेतृत्वमा ५÷५ जना सशस्त्र प्रहरीलाई खटाइएको उहाँले बताउनुभयो । 
यता मतदान हुने दिन असोज २ गते सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि तीन घेरा बनाएर सुरक्षा दिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट