News Category 2074/05/29

मधेश हाम्रै हो भन्नेमा काँग्रेस पार्टी भित्र अंहकार र दम्भ छ ः प्रचण्ड

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कोशी हाईड्याम्प निर्माणका लागि गरिएको समझदारीप्रति असन्तुष्टि जनाउनु भएको छ । 
२ नं. प्रदेशमा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसार गर्न मधेश झर्नु भएका अध्यक्ष प्रचण्डले बुधबार सप्तरी सदरमुकाम राजविराजमा गर्नुभएको पत्रकार सम्मेलन मार्फत सो असन्तुष्टि जनाउनु भएको हो । 
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार सप्तरीको चुनावी सभालाई सम्बोधन गर्दै भारतसँग कोशी ड्याम्प सम्बन्धी भारतसँग समझदारी भएको बताउनुभएको थियो । तर, माओवादी अध्यक्ष प्रचण्डले त्यो मुलुकको हितमा नरहेको प्रस्ट पार्दै सो विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने र त्यसलाई पूनरावोलकन गर्न सुझाव दिने बताउनुभयो । 
सोही पत्रकार सम्मेलनमा उहाँले पहिलो पटक स्थानिय तहको निर्वाचनमा सहभागि भएको माओवादी केन्द्रलाई एक पटक जिताउन मधेशी जनतासँग आग्रह समेत गर्नुभयो । 
नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा आयोजित सो पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले हरेक पटक मधेशी जनताले काँग्रेस र एमालेलाई जिताउँदै आएको भन्दै अबको परिवर्तनशिल मधेशको सपना साकार गर्न यस पटक माओवादीका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभएको हो । 
उहाँले अहिले पनि काँग्रेस पार्टी भित्र अंहकार, दम्भ र मधेश हाम्रै हो भन्ने भावनालाई पनि चिर्न मधेशी जनतालाई यस पटक माओवादी पार्टीलाई मधेशमा जिताउन आग्रह गर्नुभयो । 
उहाँले माओवादी केन्द्र मधेशी जनताको सम्पूर्ण सपना साकार गर्न तयार रहेको भन्दै केही दिनमै राजविराज नगरको भौतिक पूर्वाधार र अन्य विकासका निम्ति बजेट छुट्याउन भौतिक पूर्वाधार मन्त्रीलाई निर्देशन दिने समेत बताउनुभयो । 
राजविराज मुलुककै पुरानो शहर मध्ये एक रहेको तर विकासमा पछाडी परेपनि यहाँका भौतिक पूर्वाधारहरुलाई विकास गर्न सकिए निकै विकासका सम्भावनाहरु जिवितै रहेको उहाँको भनाई छ । 
उहाँले मधेशमा बाढीबाट भएको क्षति सम्बन्धमा विशेष राहत प्याकेजको पहल भइरहेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट