News Category 2074/06/10

तीन निर्वाचित सांसदको जिल्लामा माओवादीको उपस्थिति शुन्य

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
स्थानिय तहको निर्वाचनमा सप्तरीबाट माओवादी केन्द्रको कुनै पनि तहमा आफ्नो वर्चश्व कायम गर्न नसक्नु यस जिल्लाका पदाधिकारीहरुको निश्कृयता, संगठन सकृय र बिस्तार गर्न नसक्नुलाई नै मान्नु पर्छ । 
२०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा माओवादी पार्टीले सप्तरीबाटै पार्टीको इज्जत जोगाउँदै तीन वटा निर्वाचन क्षेत्र आफ्नो पोल्टोमा पार्न सफल भएको थियो । सप्तरी क्षेत्र नं. १ मा मानपुर चौधरी, २ मा अशोक कुमार मण्डल र सदरमुकाम राजविराजसहितको निर्वाचन क्षेत्र नं. ३ मा उमेश कुमार यादवले प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए । यी तीन मध्ये उमेश यादव सिंचाई मन्त्री समेत भइसक्नु भएको छ । 
यसरी हेर्दा चार वर्षको अवधीमा सप्तरीको १८ मध्ये कुनै पनि स्थानिय तहमा जित हासिल गर्न नसक्नुमा पार्टीकै गैरजिम्मेवारीपन हो । दोश्रो संविधानसभामा मुलुकभरि प्रत्यक्ष २४० सीट मध्ये माओवादीले जम्मा २५ सीट ल्याएको थियो जसमा सप्तरीबाट ३ सीट आएपछि जिल्लकै सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको हो । 
यता जिल्लामा पार्टीको कमजोर नेतृत्व पंक्तिका कारण स्थानिय तह निर्वाचनमा पार्टीले एउटा पनि सीट ल्याउन सकेन् । यती मात्र होइन् तीन निर्वाचित सदस्यहरुको व्यक्तिगत स्वार्थ र खिचातानीका कारण अहिले जिल्लामा पार्टी कार्यालय समेत नरहेको अवस्था छ । स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारी दिन पनि पार्टीलाई जिल्लामा नेता कार्यकर्ता नभेटिएको अवस्थामा पार्टीका जिल्ला संयोजक अशोक कुमार मण्डलले फेसबुक मार्फत उम्मेदवारको नामावली सार्वजनिक गरे । त्यो पनि अधुरो नाम । १८ वटै स्थानिय तहका लागि प्रमुख÷अध्यक्ष नाम मात्र सार्वजनिक गरिएको थियो । उपप्रमुख÷उपाध्यक्षलगायत अन्य सदस्यहरुको नाम पार्टीले सार्वजनिक नै नगरि उम्मेदवारी नाम दर्ता गराउने समयको केही घण्टा अगाडी उम्मेदवार खोजी खोजी नाम दर्ता गराउन बाध्य भयो । यति मात्र नभएर कतिपय वडाहरुमा उम्मेदवारी नै परेन् । यता राजविराज नगरपालिका लागि योग्य उम्मेदवार नपाएपछि पूर्वमन्त्री मन्त्री समेत रहेका अनिस अंसारीलाई अन्तिम अवस्थामा मेयरका लागि राजी गरियो । 
यसरी हेर्दा पहिलो संविधानसभा निर्वाचनमा मुलुककै पहिलो पार्टी बनेको माओवादी पार्टी, दोश्रो संविधान सभामा आएर तेश्रो स्थानमा चित्त बुझाउनु प¥यो । दोश्रो संविधान सभाका समयमा जिल्लाका शिर्ष नेताहरुले पार्टी परित्याग गरि मधेशवादी दलमा प्रवेश गरेका थिए । सो समयमा माओवादीबाटै फुटेर बैद्य माओवादीमा समेत ठूलै संख्यामा नेता कार्यकर्ताहरु गए भने कतिपय नेताहरु अहिले पनि पार्टीले जिम्मेवारी नदिएकै कारण असन्तुष्ट हुँदै तटस्थ बसेका छन् । अहिलेको स्थानिय तहको मतपरिणाम हेर्दा माओवादी केन्द्रका उम्मेदवारहरु तेश्रो, चौथो स्थानमा समेत परेका छैनन् ।  
जिल्लाका तीन निर्वाचित सदस्यहरुको आ–आफ्नै रबैयाका कारण पार्टीको जिल्लामा शुन्य उपस्थिती भएको पार्टीकै कार्यकर्ताहरुले गुनासो गरेका छन् । उनीहरुले आ–आफ्नो क्षेत्रबाट आफू अनुकुलका उम्मेदवारहरुलाई टिकट दिने प्रवृतीले समेत यस पटकको स्थानिय तहमा पार्टीले हार व्योहर्न परेको माओवादी कार्यकर्ताहरुको आरोप छ ।  
यसअघि दोश्रो संविधान सभा निर्वाचनमा सप्तरीवासीले माओवादीलाई विश्वास गर्नुको पछाडी माओवादीको एजेण्डा पनि एक थियो । त्यति खेर मधेशवादी सत्ता लिप्सामा मस्त रहेर मधेशका माँगलाई वास्ता गरेनन् भने एमाले र काँग्रेसले मधेशीको सेन्टिमेन्ट नै बुझेका थिएनन् । त्यसैले उनीहरुले माओवादीलाई विश्वास गर्न पुगे । संविधान जारि भइसकेपछि मधेशीहरुले राष्ट्रिय पार्टी काँग्रेस, एमाले र माओवादीलाई खसवादी पार्टी भनेर आलोचना गरेकै हुन् र ती पार्टीहरुले मधेशका जायज माँगलाई सम्बोधन गर्न सकेनन् । त्यसको प्रभाव यस पटकको स्थानिय निर्वाचनमा तीनै पार्टीमा देखिन्छन् । सांगठनिक रुपले काँग्रेस धेरै बलियो रहेको र जिल्लाको उत्तरी भेगमा एमालेको संगठन र उसको अन्धराष्ट्रवादी नाराले गर्दा केही मात्रामा साख जोगाउन सकेकै हो । तर, माओवादीले आफ्नो एजेण्डप्रति अडिक रहन सके न त संगठनलाई सक्रिय बनाउन सक्यो । त्यसको फलस्वरुप नै सप्तरीमा माओवादी शुन्यमा पुगेको हो ।
यद्दपी अहिले राजविराज नगरपालिकाको मतगणना जारि छ । मतगणना जारि रहेको अवस्थामा माओवादी तेश्रो स्थानमा रहेको छ । मतगणना जारि रहेको अवस्थामा राजविराजमा माओवादी जित्ने सम्भावना भने थोरै भएपनि जिवितै छ र यसको परिणाम आउँदो दुई दिनमा छर्लङ हुनेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट