News Category 2074/06/17

कुनौली थानामा अपहरण मुद्दा दर्ता भएको आधारमा देवनारायण र उनका छोरा पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादवलाई भारतीय प्रहरीले अपहरणको मुद्दामा पक्राउ गरेको छ । देवनारायणका छोराले नाबालिकालाई भगाएर विवाह गरेको आरोपमा केटीपक्षले कुनौली थानामा अपहरणको मुद्दा दर्ता गराएपछि बाबुछोरा पक्राउ परेका हुन् ।
गत वर्ष तिलाठीस्थित दशगज्जामा भएको विवादमा घाइते समेत भएका पूर्व क्षेत्रपाल देवनारायण यादव र उनका २१ वर्षिय छोरा अजयलाई भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित कुनौली थानाका प्रहरीले पक्राउ गरेको हो । 
शनिबार राति तिलाठीका स्थानिय दुई युवकसँग यादवका छोरा अजय कुनौली बजार दशैंको मेलामा नाचगान हेर्न गएको बेला होहल्ला गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ पछि मात्र भारतीय प्रहरीले उनीमाथी अपहरणको मुद्दा दायर भएको भन्दै अजय बाहेक अन्यलाई प्रहरीले रिहा गरेको थियो । 
पक्राउ परेपछि आइतबार बिहान बुबा देवनारायणले छोरालाई रिहा गराउन गएको बेला कुनौली थानाका इन्चार्ज दरोगा उमेश यादवसँग देवनारायणको चर्काचर्की र गाली गलौज नै परेपछि भारतीय प्रहरीले देवनारायण समेतलाई पक्राउ ग¥यो । यद्धपी देवनारायणमाथी अपहरण मुद्दा छ छैन् भने खुलेको  छैन् । पक्राउ परेका वावुछोरा दुवैलाई सुपौल जिल्ला अन्तर्गत बिरपुर थाना पठाईएको भारतीय प्रहरीले जनाएको छ । 
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कुनौली थानामा देवनारायण यादवका छोरा अजयमाथी अपहरणको मुद्दा दर्ता भएको तर देवनारायणलाई समेत प्रहरीले सोही मुद्दामा पक्राउ गरेको भन्ने कुराको भारतीयपक्षसँग सोधपुछ गरिरहेको जानकारी दिनुभयो ।
यसअघि देवनारायणका छोरा अजयले केही महिना अगाडी कुनौलीकी एक युवतीसँग प्रेम विवाह गरि तिलाठी ल्याएपछि ती युवतीका परिवारजनले कुनौली थानामा २०१७ जुन ३ मा अजय लगायत चार जना बिरुद्ध अपहरण मुद्दा दर्ता भएको कुनौली प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 
यता अजयकी पत्नी कुनौली निवासी १९ वर्षिया ज्योती कुमारी साहले आफूलाई कसैले अपहरण तथा जोरजबरजस्ति नगरेको बताएकी छिन् । उनले आफुखुशी अजयसँग प्रेम विवाह गरि आएको जानकारी दिइन् । उनले आफ्ना पति र ससुरालाई रिहा गर्न भारतीय प्रहरीसँग आग्रह गर्दै परिवारजनलाई मुद्दा फिर्ता लिन माँग गरेकी छिन् । 
यस्तै तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी वडा अध्यक्ष दिनेश्वर मिश्राले देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको तर कुन कारणमा गरेको भन्ने विषयमा हालसम्म नेपाली र भारतीय पक्षबाट कुनै जानकारी नआएको बताउनु भयो । 
स्मरण रहोस् गत वर्ष साउन १६ गते सप्तरीको तिलाठीस्थित खाँडो बाँधको विषयलाई लिएर स्थानिय तिलाठीवासी र भारतीय नागरिकबीच भएको विवादमा कुटपिटबाट यादव घाइते भएका थिए । 
खाँडो नदीमा एकतर्फी बाँध बाँध्न आएका भारतीयहरुको प्रतिकार गरेका कारण उनलाई विद्यार्थीहरुले नेपालको सीमा रक्षक र राष्ट्र नायकको संज्ञा दिएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट