News Category 2070/08/12

मधेशी जनसमुदायमा तमरा अभियानको अपील

दैनिक समाचारदाता



दैनिक संवाददाता
राजविराज, ११ मंसीर । 
निकट भबिष्यमै मधेशी जनताले बेहोर्नुपर्ने कठोर राजनीतिक संकटको मुकाबला गर्न र प्रतिगमनकारी कार्यको प्रतिकार गर्न तराई मधेश राष्ट्रिय अभियानले आफ्नो संगठनमा आबद्ध हुन मधेशका सबै जनसमुदायमा अपील गरेको छ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले मंगलवार प्रेस बिज्ञप्ती जारी गरि छिटै संघर्ष तथा संगठनको कार्यक्रमहरु अभियानले सार्वजनिक गर्ने उल्लेख छ ।
निर्वाचनमा जित्ने मुख्य दलहरु संघीयता बिरोधी संबिधान ल्याउने कसरत गर्ने उल्लेख गर्दै बिज्ञप्तीमा पराजित भएका मधेशबादी दलका नेताहरुलाई राजनीतिबाट अवकाश लिन सुझाव समेत दिनुभएको छ ।
संबिधानसभा निर्वाचनमा सहभागि भएका सत्तालोलुप एंव गैर क्रान्तिकारी, अवसरबादीहरुको लज्जाजनक पराजय मधेशी जनताको पराजय नभएको टिप्पणी गर्दै बिज्ञप्तीमा भनिएको छ–‘‘ निर्वाचनलाई मधेशी जनताको हारको रुपमा चर्चा गरेर भावी आन्दोलनलाई हतोत्साहित नर्गन हामी सबैमा अनुरोध गर्न चाहन्छौ ।” 
निर्वाचनमा मधेशी जनताले यथास्थितिबादी मधेशी नेताहरु र तिनका पार्टीलाई सजाय दिएको र निर्वाचन परिणामले जनता र जनताको क्रान्तिकारी चिन्तनको धारलाई हतोत्साहित गर्न नसक्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ । 
आफुहरुले संबिधानसभा निर्वाचनमा सहभागि नभएर ठीक गरेको जिकिर गर्दै बिज्ञप्तीमा मधेशी जनताको अधिकार प्राप्तीका लागि नयाँ क्रान्तिकारी धारको निर्माण गर्न कम्मर कस्ने बेला आएको उल्लेख छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट